माइतीघरमा प्रदर्शन गर्दा कृष्ण पहाडी सहित १७ जना पक्राउ
काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका १७ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
एनसेल शेयर खरीदबिक्री प्रकरण छानबिनको माग गर्दै शान्ति समाजको अगुवाइमा अधिकारकर्मीले माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको शान्ति समाजले जनाएको छ।
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरू उत्तम पुडासैनी र गोविन्द खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरू रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा पनि प्रहरीको नियन्त्रणमा छन्।
प्रहरीले कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरू नम्रता खरेल र दिवाकर पुडासैनी, अधिकारकर्मीहरू बलबहादुर गाहा मगर, भगवान पुडासैनी, विकास थापा, सानु लामा, रोज विष्ट र वुद्ध रिसाललाई नियन्त्रणमा लिएको शान्ति समाजले जनाएको छ। माइतीघरबाट नियन्त्रणमा लिएका अधिकारकर्मीलाई नेपाल पुलिस क्लबमा राखिएको छ।
स्थानीय प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्म एक महीनाका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो। त्यस्तै, राष्ट्रपति कार्यालय रहेको शीतल निवास र प्रधानमन्त्री निवास रहेको बालुवाटार क्षेत्रलाई दुई महीनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।