पीएम कपमा बागमती र एपीएफको विजयी शुरूआत
प्रधानमन्त्री (पीएम) कप महिला टी-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरूआत गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले पराजित गरेको छ। बागमतीले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा मधेश प्रदेशले पाँच विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो।
मधेश प्रदेशका लागि पूजा महतोले ३५, अनुराधा चौधरीले २१ र प्रतिमा साहले १५ रन बनाइन्। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
त्यस्तै, बागमतीका लागि अस्मिना कर्माचार्यले दुई र मनीषा उपाध्यायले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको बागमतीले चार विकेटको क्षतिमा ११७ रन बनाएको थियो। बागमतीका लागि यशोदा विष्टले ४७, अस्मिना कर्माचार्यले ३० र हेलिसा गुरुङले १२ रन बनाए। मधेशका लागि पूजा महतोले दुई र कविता गौतमले एक विकेट लिए।
त्यस्तै, मूलपानीमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले एक विकेटको क्षतिमा पूरा गर्यो।
एपीएफका लागि ज्योति पाण्डेले अविजित ४९ तथा इन्दु बर्माले अविजित ३१ रन बनाए। सुदूरपश्चिमकी ईश्वरी विष्टले एक विकेट लिइन्।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कविता जोशीले २२ र सम्झना खड्काले १२ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
एपीएफका लागि सोनु खड्काले दुई तथा सुमन विष्ट, करुणा भण्डारी र इन्दु बर्माले एक-एक विकेट लिए।