माओवादीको विधान सम्मेलन फागुनमा
नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ।
बिहीबार बसेको माओवादीको पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता सापकोटाले विधान मस्यौदा समिति गठन गरिएको बताए।
माओवादी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गठन भएको समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा सदस्य छन्। त्यस्तै, सचिवद्वय गणेश शाह र राम कार्कीलाई पनि विधान मस्यौदा समिति सदस्यमा राखिएको छ।
समितिले तयार पारेको मस्यौदा केन्द्रीय कमिटी बैठकमा पेश गरिनेछ। केन्द्रीय कमिटी बैठकले पारित गरेपछि विधान सम्मेलनमा पेश गरिने भएको छ।
त्यस्तै, माओवादीले विशेष रूपान्तरण अभियानलाई निरन्तरता दिने भएको छ। यो अभियान सफल भएको निष्कर्ष निकाल्दै यसलाई निरन्तरता दिने निर्णय गरेको हो।