ट्र्याक्टर दुर्घटना हुँदा श्रीमान्श्रीमती सहित पाँच जनाको मृत्यु, नौ घाइते
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
आठबिसकोट-१०, पिरिकोट भित्री सडकखण्ड हुँदै वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१त १४ नम्बरको ट्र्याक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो।
ट्र्याक्टर बुधबार राति नगरपालिकाको कार्यालय राडीबाट भूकम्पपीडितका लागि राहत सामग्री लिएर घर्तीगाउँ जाँदै थियो।
दुर्घटनामा परी आठबिसकोट-१०, नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकी शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए। यस्तै, आठबिसकोट-१० स्थित डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय, आठबिसकोटले निकालेको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्ति अनुसार सो दुर्घटना गएराति करीब १०:१५ मा भएको कार्यालयले जनाएको छ। दुर्घटनामा अन्य नौ जना घाइते समेत भएका छन्। घाइते हुनेमा आठबिसकोट-८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबिसकोट-१० का ३८ वर्षीय रमेश सार्की, आठबिसकोट-८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन छन्।
घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्र्याक्टर चालक आठबिसकोट-९ का २१ वर्षीय गोपाल विक फरार रहेको विज्ञप्तिमा उल्लेख छ।