रूसी सेनामा कार्यरत नेपाली युवक कुन्दन नागलको मृत्यु
रूसी सेनामा कार्यरत अर्का नेपाली युवक कुन्दनसिंह नागलको मृत्यु भएको छ।
युक्रेनसँगको युद्धमा रूसी सेनाका तर्फबाट खटिएका नेपाली युवक नागलको मृत्यु भएको हो। बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपाली नागरिक नागलको रूस-युक्रेन युद्धमा ज्यान गएको पुष्टि गरेको छ।
परराष्ट्र मन्त्रालयले भनेको छ, ‘रूसी सेनामा कार्यरत थप एक नेपाली नागरिक कुन्दन सिंह नागल (राहदानी नं. ०९४७३६३२) को दुःखद निधन भएको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ।’
नागलका विषयमा थप जानकारी सार्वजनिक गरेको छैन। परराष्ट्र मन्त्रालयले उनको ठेगानामा पनि खुलाएको छैन।
उनी सहित रूस-युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या सात पुगेको छ। यसअघि रूसी सेनामा भर्ती भएका ६ जना नेपाली युवकले ज्यान गुमाएका थिए।
त्यस्तै, रूसी सेनामा भर्ती भएका चार जना नेपाली युवक युक्रेनमा बन्दी रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ। बर्दियाको राजापुर-१ का विवेक खत्री, काभ्रेपलान्चोकको मण्डनदेउ-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई र रोल्पाको रुन्टिगढी-८ का प्रतीक पुन युक्रेनले बन्दी बनाएको छ।
उनीहरू रूसी सेनामा भर्ना भएर युक्रेन युद्धमा खटिएका थिए। युद्धका क्रममा युक्रेनी सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।
युक्रेनमा बन्दी बनाइएका चारै जनाको रिहाइका लागि रेडक्रस लगायत संघसंस्थाका माध्यमबाट कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ।
यो पनि पढ्नुहोस् : रूस-युक्रेन युद्धमा ज्यान गुमाउँदै नेपाली, अनदेखा गर्दै सरकार