शीतल निवास र बालुवाटार क्षेत्रमा दुई महीना निषेधाज्ञा
स्थानीय प्रशासनले राष्ट्रपति कार्यालय रहेको शीतल निवास र प्रधानमन्त्री निवास रहेको बालुवाटार क्षेत्रमा दुई महीना निषेधाज्ञा जारी गरेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बुधबार निषेधाज्ञाको आदेश जारी गरेका हुन्। जिल्ला सुरक्षा समितिको सिफारिशमा पुस ४ गतेदेखि लागू हुने गरी दुई महीनाका लागि निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति कार्यालय रहेको शीतल निवास क्षेत्रमा पूर्वको वर्कशप चोक, पश्चिमको सामाखुसी निस्कने नाल, उत्तरको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र दक्षिणको पूर्वी गेट तथा प्रहरी अस्पताल जाने मोडसम्म निषेधाज्ञा जारी गरेको हो।
त्यस्तै, प्रधानमन्त्री निवास रहेको बालुवाटार क्षेत्रमा पुरानो पवित्र वर्कशप चोकदेखि रूसी राजदूतावासबाट इटालिया चोकसम्म, सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम-दक्षिण १०० मिटरसम्म निषेधाज्ञा लागू गरिएको छ। यस्तै, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम, राष्ट्र ब्यांक चोकबाट पूर्वतर्फ १०० मिटर र इटालिया चोकबाट ५० मिटर दक्षिणसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
यस क्षेत्रमा पाँचभन्दा बढी व्यक्ति भेला भएर जुलूस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने भएको छ।
यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधाज्ञा जारी गरेको थियो। ललितपुर जिल्ला प्रशासन कार्यालयले भने पुल्चोक क्षेत्रमा ६ महीनाका लागि निषेधाज्ञा जारी गरेको थियो। यसका विरुद्ध सर्वोच्च अदालतमा परेका रिट विचाराधीन छन्।