घरेलु उद्योग सम्बन्धी प्रविधि अनुसन्धानको समझदारी
घरेलु र साना उद्योग सम्बन्धी प्रविधिको अनुसन्धान र विकासका लागि लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ।
समझदारी अनुसार लघु, घरेलु तथा साना उद्योगका लागि आवश्यक पर्ने १० वटा प्रविधिको अध्ययन अनुसन्धान र विकासका लागि लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ उपलब्ध गराउनेछ। यस सम्बन्धी समझदारीपत्रमा केन्द्रका कार्यकारी अधिकृत दीपक घिमिरे र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका छन्।
समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले लघु, घरेलु र साना उद्योगलाई चाहिने प्रविधिको अनुसन्धानबाट उद्योग र उद्यमी उत्पादन गर्ने उद्देश्य रहेको बताए। उनले अनुसन्धान विना उद्यमी बन्न नसकिने कुरामा जोड दिए।
लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी अधिकृत घिमिरेले स्थानीय श्रम, सीप, पूँजी, प्रविधि र कच्चा पदार्थमा आधारित उद्योगहरूको विकास र प्रवर्द्धनका लागि अनुसन्धानमा लगानी गर्नुपर्ने बताए। उनले लघु, घरेलु तथा साना उद्योगलाई आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकास गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य बढाउने बताए।
लघु उद्यम, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धन सम्बन्धी कार्यहरू गर्न संघीय सरकारको स्थायी संस्थागत संरचनाका रूपमा केन्द्रले काम गर्दै आएको छ।