बिजुली पासोमा मर्दै हात्ती
अन्नबाली जोगाउन किसानले थाप्ने बिजुलीको पासोमा परेर पूर्वी तराईमा हात्ती मरिरहेका छन्।
किसानको बारीमा आएर एक सातादेखि सखरखण्ड खाइरहेको हात्ती एकाएक मृत भेटियो। झापाको बाह्रदशी गाउँपालिका-१, खयरबारी क्षेत्रमा गत मंसीर २८ मा मृत भेटिएको हात्ती १६ वर्षको थियो।
हात्ती कसरी मर्यो? वन कार्यालयले अनुसन्धान गर्दा कारण पत्ता लाग्यो- करेन्ट लागेर। सखरखण्ड जोगाउन किसानले लगाएको विद्युतीय पासोमा परेर हात्तीको ज्यान गयो।
केही महीनाअघि पनि झापाको भद्रपुर नगरपालिका-२, कमलधाप रामपोखरीमा हात्ती मृत भेटिएको थियो। सामुदायिक वन कार्यालय नजिकैको दलदलमा फसे जस्तो देखिन्थ्यो।
गत असोज २४ गते बिहान हात्ती मृत भेटिएपछि वन कार्यालयले अनुसन्धान गर्यो। अनुसन्धानको निष्कर्ष थियो- करेन्ट लागेर हात्ती मर्यो।
यस वर्ष मात्रै होइन, गत वर्ष पनि यसरी नै हात्ती मृत भेटिएका थिए। २०७९ असार २२ मा झापाकै अर्जुनधारा नगरपालिका-४ को दहिझोडा खोला किनारमा हात्ती मृत भेटियो।
हात्ती मृत भेटिएको स्थान नजिकै जीआईको नांगो तार पनि फेला पर्यो। त्यसका आधारमा अनुसन्धान गर्दै जाँदा करेन्ट लागेर हात्ती मरेको खुल्यो।
त्यस्तै, २०७९ कात्तिक ३० मा झापाको दक्षिणी क्षेत्रस्थित कचनकवल गाउँपालिका-१, कलियागन्जमा हात्ती मरेको खबर आयो। झन्डै ८० बिघा जग्गाको ठूलो फाँटको बीचमा हात्ती मारिएपछि गाउँमा त्रास पनि बढ्यो।
हात्ती मारिएको ठाउँमा हरेक दिनजसो १०-१५ वटा हात्तीको बथान आउन थाल्यो। “हात्तीहरू साह्रै रिसाहा हुँदा रहेछन्। त्यो हात्ती मारिएको १५-२० दिनसम्म अन्य हात्ती आइरहे,” कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई सम्झन्छन्, “किसानहरू धेरै दिनसम्म खेतमा जानै सकेनन्।”
हात्ती मरेपछि धेरै दिनसम्म खेतमा पुग्नै मुश्किल भएको स्थानीय कृष्णप्रसाद दाहाल बताउँछन्। उनका ठूला बुबा गंगाप्रसाद दाहालको खेतमा हात्ती मृत भेटिएको थियो। खेतमा सुठुनी र सिमल तरुल लगाइएको थियो। त्यही खाँदा ‘फूड पोइजन’ भएर मरेको हुन सक्ने अनुमान थियो।
पछि वन डिभिजन कार्यालय, भद्रपुरले हात्तीको ‘पोस्टमार्टम’ गर्यो। त्यसमा करेन्ट लागेर हात्ती मरेको खुल्यो।
यसरी हरेक वर्ष करेन्टबाट हात्तीले ज्यान गुमाइरहेका छन्। पछिल्ला १२ वर्षमा १६ हात्ती मरेका छन्। जसमध्ये करेन्ट लागेर नौ हात्ती मरेको पुष्टि भएको वन डिभिजन कार्यालयको तथ्यांक छ।
स्थानीय बासिन्दाले हात्ती मार्न करेन्ट लगाउने गरेको बताउँछन्। खेतीपाती जोगाउन थापिने बिजुलीको पासोमा परेर हात्ती मरिरहेको उनीहरूको भनाइ छ।
डिभिजन वन कार्यालयका प्रमुख मेघराज राई भने पासोमा भन्दा पनि नागरिकको जीउधनको सुरक्षाका लागि सरकारले लगाएको विद्युतीय तारबारको करेन्टमा परेर हात्ती मर्ने गरेको दाबी गर्छन्। “नागरिकले विद्युतीय पासो थाप्नेभन्दा पनि हात्तीलाई गाउँ छिर्न नदिन लगाइएको तारबारका कारण मरेका हुन्,” राई भन्छन्।
मानव-हात्ती द्वन्द्वका विषयमा अध्ययन गरिरहेका संरक्षणकर्मी शंकर लुइँटेल भने विद्युतीय तारबारमा लगाइएको करेन्टबाट हात्ती नमर्ने बताउँछन्। “हात्तीका लागि डीसी करेन्ट प्रयोग गरिएको हुन्छ, त्यसले हात्ती मर्दैन,” लुइँटेल भन्छन्, “जस्तो- हाम्रो घरमा आउने बिजुलीमा एसी करेन्ट हुन्छ, एसी करेन्टको प्रयोगबाट नै झापामा हात्ती मारिएका छन्।”
बढ्दै मानव-हात्ती द्वन्द्व
झापामा यस वर्ष मात्रै विद्युतीय पासोमा परेर तीन वटा हात्ती मरेका छन्। स्थानीय बासिन्दाले खेतीपाती जोगाउन विद्युतीय पासोमा पारेर हात्ती मारिरहेका छन् भने हात्तीको आक्रमणबाट मानिसको ज्यान पनि गइरहेको छ।
पुस ४ गते ‘मर्निङ वाक’ मा निस्केका झापाको हल्दीबारी गाउँपालिका-२ का ६० वर्षीय पाठल राजवंशीलाई हात्तीले आक्रमण गर्यो। घरभन्दा करीब २०० मिटर पूर्वको चन्द्रगढी-हल्दीबारी सडक छेउको झाडीमा उनको शव भेटियो।
हात्तीको आक्रमणबाट ज्यान गुमाउने राजवंशी एक्ला होइनन्। यस वर्ष मात्रै हात्तीको आक्रमणमा परेर ६ जनाको ज्यान गइरहेको छ। हात्तीले घर भत्काउने, अन्नबाली नष्ट गर्ने लगायत घटना पनि बढिरहेका छन्। पछिल्लो समय झापामा मानव-हात्तीबीच द्वन्द्व बढ्दै गएको संरक्षणकर्मी बताउँछन्।
मानव र हात्तीबीच द्वन्द्व बढ्दै गएपछि नौ वर्षअघि झापामा हात्ती आवतजावत गर्ने क्षेत्रमा विद्युतीय तारबारको व्यवस्था गरिएको थियो। शुरूका केही वर्ष त्यसले काम पनि गर्यो। पछिल्लो समय भने हात्ती नै विद्युतीय तारबार (सोलार फेन्सिङ) को पासोमा पर्न थालेका छन्।
मानव-हात्ती द्वन्द्व न्यूनीकरणमा लागेका अभियन्ता शंकर लुइँटेल अहिले पूर्वका जंगलमा ५० भन्दा बढीको संख्यामा हात्ती रहेका बताउँछन्। गत वर्ष मेची किनार हुँदै बाहुनडाँगीबाट नेपाल छिरेका १२ हात्ती भारत नफर्किएको उनी बताउँछन्।
उनका अनुसार यस वर्ष पनि कात्तिक २७ गते भारतबाट ३७ वटा हात्ती नेपाल छिरेका थिए। अहिलेसम्म भारत फर्किएका छैनन्। नेपाल छिरेका हात्ती नफर्किंदासम्म मानव-हात्तीबीच द्वन्द्व हुने उनको भनाइ छ।
नेपाल पसेका जंगली हात्ती भारतको जंगलतिर नफर्किनुको एउटा कारण हो, खानेकुरा। जस्तो- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापाको कन्काई नगरपालिका र झापा गाउँपालिकामा आधुनिक मकैखेती गरिएको छ। त्यस्तै, मोरङ र सुनसरीमा केराखेती गरिएको छ। यी दुवै हात्तीलाई मीठो लाग्ने खानेकुरा हुन्।
प्रशस्त खानकुरा पाइने भएकाले हात्ती यतैतिर घुमफिर गरेर बस्ने गरेको वनकर्मी पनि बताउँछन्। डिभिजन वन कार्यालय प्रमुख राई पनि हात्तीलाई मन पर्ने खानेकुरा नेपाली जमीनमा पाइन थालेपछि हात्तीको संख्या बढ्दै गएको बताउँछन्। उनका अनुसार एशियाली प्रजातिका हात्ती झापाको जंगलमा बच्चा हुर्काएर बसिरहेका छन्। जसले गर्दा मानव-हात्तीबीच अझै द्वन्द्व बढ्ने देखिएको छ।
सरकारी तथ्यांकमा करेन्ट लागेर मरेका भनिएका हात्ती फेन्सिङ तारको करेन्टमा परेको वा किसानले अन्नबाली जोगाउन लगाएको करेन्टको शिकार भएको भन्ने खुलाइएको छैन। यद्यपि केही स्थानमा भेटिएका जीआई तारहरूले नागरिकले नै खाद्यबाली जोगाउन हात्ती आवतजावत गर्ने स्थानमा करेन्ट बिछ्याएको हुन सक्ने अनुमान अभियन्ता लुइँटेलको छ।
समयमै सरकारले कृषक बीमा, खाद्यबालीको बीमा र नागरिकको जनधनको बीमा नगर्ने हो भने मानव-हात्ती द्वन्द्व अझै बढ्दै जाने उनी बताउँछन्। तर सरकारका कार्यक्रम त्यतातिर केन्द्रित हुन सकेका छैनन्।