राष्ट्रिय सभा निर्वाचनमा दुई हजार ४७ मतदाता
आउँदो माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि दुई हजार ४७ मतदाता कायम गरिएको छ।
निर्वाचन आयोगले बुधबार राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ। जस अनुसार दुई हजार ४७ मतदाता कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने व्यवस्था छ। मृत्यु भएका जनप्रतिनिधिको नाम हटाएर मतदाता नामावली तय गरिएको पौडेलले बताए।
सात प्रदेशमा कुल प्रदेश सभा सदस्य ५५० जना छन्। यसमध्ये मृत्यु भएका एक जनाको नाम हटाएर ५४९ कायम गरिएको हो।
त्यस्तै, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका मेयर र उपमेयर गरी एक हजार ५०६ जना हुन्छन्। यसमध्ये गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका उपमेयर गरी तीन जनाको मृत्यु भएको छ।
त्यसैगरी, गाउँपालिकाका एक जना अध्यक्ष र नगरपालिकाका चार जना मेयर निलम्बनमा परेका छन्। उनीहरूको नाम हटाएर एक हजार ४९८ जनाको मतदाता नामावली कायम गरिएको आयोगले जनाएको छ।
राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ। त्यसमा प्रदेश सभा सदस्यको मतभार ५३ हुन्छ भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका मेयर र उपमेयरको मतभार १८ हुन्छ। कुल ५७ हजार ५५९ मतभार छ।