सर्वोच्चमा सिफारिश ६ न्यायाधीशको नाम अनुमोदन
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका ६ जना न्यायाधीशको नाम संसदीय समितिले अनुमोदन गरेको छ।
बुधबार बसेको संसदीय समितिको बैठकले सबैको नाम अनुमोदन गरेको हो। समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद लीलानाथ श्रेष्ठले ६ जनाकै नाम अनुमोदन गर्ने निर्णय भएको बताए।
संसदीय सुनवाइ समितिले सुनील पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको नाम अनुमोदन गरेको हो। यसअघि न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशमा उनीहरूको नाम सिफारिश गरेको थियो।
संसदीय सुुनुवाइ समितिले सर्वोच्चको न्यायाधीशका लागि सिफारिश भएका न्यायाधीशहरूको सोमबार सुनुवाइ सकेको थियो। उनीहरूको नाम अनुमोदन गर्न आज बैठक बोलाइएको हो।
न्याय परिषद्ले सिफारिश गरेका न्यायाधीशको संसदीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ। समितिले सुनुवाइ गरिसकेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।