विश्व ब्यांकको तथ्यांक : सन् २०२२ मा नेपालबाट बाहिरिने रेमिटेन्स पाँच अर्ब ३२ करोड मात्रै!
विश्व ब्यांकले आन्तरिक गणनाका आधारमा यस्तो तथ्यांक सार्वजनिक गरे पनि यो रकमको आधिकारितामा प्रश्न छ। नेपालको श्रम बजारमा भारत सहितका देशका हजारौं कामदार रहेको सरकारी निकायहरूले बताउने गरेका छन्।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा एकचौथाइ हिस्सा रेमिटेन्सको छ। हरेक महीना नेपालमा एक खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिइरहेको नेपाल राष्ट्र ब्यांकको तथ्यांकले पनि नेपालको अर्थतन्त्र रेमिटेन्सको बलमा टिक्दै आएकोमा शंकै छैन।
तर नेपालमा रेमिटेन्स भित्रिंदैन मात्रै, बाहिरिन्छ पनि। नेपालमा काम गर्न आएका भारत लगायत मुलुकका नागरिकले नेपालबाट आफ्नो देशमा रकम पठाउँछन्। नेपालबाट रेमिटेन्सका रूपमा बाहिरिने रकम कति हो भन्नेबारे नेपाल सरकारका निकायहरूसँग भरपर्दो तथ्यांक छैन।
हालै विश्व ब्यांकले प्रकाशित गरेको एक प्रतिवेदनले भने नेपालबाट वार्षिक सवा पाँच अर्ब रुपैयाँको हाराहारीमा रेमिटेन्स बाहिरिने गरेको देखाएको छ। विश्व ब्यांकको यही महीना प्रकाशित आप्रवासन तथा विकास सम्बन्धी संक्षिप्त प्रतिवेदनका अनुसार सन् २०२२ मा नेपालबाट चार करोड अमेरिकी डलर (अहिलेको मूल्यमा करीब रु.पाँच अर्ब ३२ करोड) रेमिटेन्स बाहिरिएको छ।
यो रकम सन् २०२१ का तुलनामा ४० लाख डलर (अहिलेको सटही दर अनुसार करीब रु.५३ करोड) ले थोरै हो। प्रतिवेदन अनुसार पछिल्लो दुई दशकमा नेपालबाट सर्वाधिक रेमिटेन्स सन् २०१९ मा बाहिरिएको थियो। यस वर्ष नेपालबाट ६ करोड अमेरिकी डलर (अहिलेको मूल्यमा करीब रु.आठ अर्ब) बराबरको रेमिटेन्स बाहिरिएको तथ्यांक छ।
विश्व ब्यांकले आन्तरिक गणनाका आधारमा यस्तो तथ्यांक सार्वजनिक गरे पनि यो रकमको आधिकारितामा प्रश्न छ। नेपालको श्रम बजारमा भारत सहितका देशका हजारौं कामदार रहेको सरकारी निकायहरूले बताउने गरेका छन्।
श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सार्वजनिक कार्यक्रममै नेपालमा निर्माण, काठको काम, रङरोगन आदि काम गर्न हजारौं विदेशी आउने गरेका बताएका थिए। नेपालको श्रमका अनौपचारिक क्षेत्रमा काम गर्ने विदेशी कामदारले एक खर्ब रुपैयाँभन्दा बढी रकम अनौपचारिक माध्यमबाट विदेश लैजाने अनुमान हुँदै आएको छ।
विश्व ब्यांकले नेपालमा कुल गार्हस्थ्य उत्पादनको तुलनामा २६.६ प्रतिशत रेमिटेन्स भित्रिने पनि नयाँ प्रतिवेदनमा उल्लेख गरेको छ। सन् २०२३ मा नेपालले ११ अर्ब अमेरिकी डलर रेमिटेन्स भित्र्याउने अनुमान प्रतिवेदनमा छ।
सन् २०२२ मा नेपालले नौ अर्ब २९ करोड डलर रेमिटेन्स भित्र्याएको थियो। खाडी देशहरूमा न्यून मूल्यवृद्धिका कारण नेपाली श्रमिकको रेमिटेन्स पठाउने क्षमता विस्तार भएको उल्लेख गरिएको छ।
प्रतिवेदनले दक्षिणएशियामा नै अर्थतन्त्रको आकार (कुल गार्हस्थ्य उत्पादन)का तुलनामा सर्वाधिक रेमिटेन्स भित्र्याउने मुलुकमा नेपाल पहिलो रहेको उल्लेख गरेको छ। नेपालपछि श्रीलंकाको कुल गार्हस्थ्य अनुपातका तुलनामा रेमिटेन्स ७.३ प्रतिशत र पाकिस्तानको सात प्रतिशत छ।
संसारमै कुल गार्हस्थ्य उत्पादनको अनुपातमा धेरै रेमिटेन्स भित्र्याउने मुलुकमा नेपाल छैटौं स्थानमा छ। सबैभन्दा धेरै ताजकिस्तानले कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ४८ प्रतिशत रेमिटेन्स भित्र्याउने विश्व ब्यांकको प्रतिवेदनमा उल्लेख छ।
टोंगा, समोआ, लेबनान र निकारागुवाको पनि कुल गार्हस्थ्य उत्पादनको तुलनामा उच्च रेमिटेन्स आप्रवाह छ।