एनसेल सम्बन्धी मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश
सर्वोच्च अदालतले एनसेलको शेयर खरीदबिक्री सम्बन्धी मुद्दामा नेपाल सरकार, एनसेल आजियाटाको नाममा कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले मंगलबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी हुने/नहुने विषयमा छलफलका लागि बोलाउने आदेश दिएको हो। अदालतले दुवै पक्षलाई पुस १६ गते बोलाएको छ।
प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले कानूनी प्रक्रिया मिचेर मुलुकलाई हानि पुग्ने गरी निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको शेयर अपारदर्शी ढंगले खरीदबिक्री भएको भन्दै अदालतमा रिट दायर गरेका थिए। सिंहले एनसेल आजियाटा लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजस्व विभाग ठूला करदाता कार्यालयलाई प्रतिवादी बनाएका छन्।