३९६ किलो गाँजा सहित दुई भारतीय पक्राउ
जिल्ला प्रहरी कार्यालय, चितवनले ३९६ किलो गाँजा बरामद गरेको छ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नं. प्लेटको ट्रक जाँच गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ। चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्की सहितको टोलीले मंगलबार बिहान ५ बजे जाँच गर्दा भरतपुर महानगरपालिका वडा नं. १ को राजमार्ग खण्डमा सो परिमाणको गाँजा बरामद गरेको हो।
ट्रकको क्याबिनमा ‘फल्स बटम’ मा प्लास्टिकले बेरिएका २८ पोका गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले भारतको उत्तर प्रदेश सम्बल जिल्ला केलादेवी थाना कुतवपुरका ३७ वर्षीय राजपाल सिंह र सोही जिल्लाको बैजई थाना पुरा गाउँ बस्ने ४५ वर्षीय अनिल गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
प्रहरीले जेएच.२डब्लू ९६३१ नम्बरको भारतीय ट्रकलाई समेत नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्ने दुवै ट्रकका चालक र सहचालक हुन्।