रुकुम पश्चिममा १३ हजारभन्दा बढी लाभग्राहीले पाए पहिलो किस्ता
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा करीब साढे १३ हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्।
जिल्लाका ६ वटै पालिकाका १३ हजार ३८३ लाभग्राहीले पहिलो किस्ता बापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन्। सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका चार हजार ७४२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ५९ लाभग्राहीले पहिलो किस्ता बापत रकम प्राप्त गरेका हुन्।
त्यस्तै, सानीभेरी गाउँपालिकामा दुई हजार ३२१, त्रिवेणी गाउँपालिकामा दुई हजार ६९ लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्दा बाँफिकोट गाउँपालिकाका लाभग्राहीले भने अझै अस्थायी आवास निर्माणको रकम पाउन सकेका छैनन्।
आठबिसकोटमा सात हजार लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम प्राप्त भए पनि ब्यांकमा खाता सञ्चालन भएका चार हजार ७४२ लाभग्राहीलाई पहिलो किस्ता बापतको रकम पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए। उनका अनुसार नगरपालिकाभर नौ हजार ९६२ लाभग्राहीको संख्या यकिन भएको छ।
बाँकी लाभग्राहीलाई पनि खाता सञ्चालन भएपछि तत्काल रकम पठाइने उनले जानकारी दिए। त्यहाँ हालसम्म दुई हजार २४० अस्थायी आवासको निर्माण भइसकेको छ भने तीन हजार ६९० वटा अस्थायी आवास निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ।
चौरजहारी नगरपालिकामा चार हजार १९३ लाभग्राहीको खातामा रकम पठाइएको छ। जिल्ला विपद् व्यवस्थापन कोषबाट ६ हजार २७९ लाभग्राहीका लागि रकम प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार नगरपालिकामा आठ हजार ३८३ लाभ्रग्राहीको पहिचान भएको छ। विवरण संकलन गर्न अझै केही दिन लाग्ने शाहले जानकारी दिए। त्यहाँ ११८ अस्थायी आवास निर्माण हुँदा एक हजार ५३३ अस्थायी आवास निर्माणको चरणमा छन्।
सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माण गर्न दुई हजार ३२१ लाभग्राहीले पहिलो किस्ता पाएका छन्। पालिकाभर हालसम्म पाँच हजार ४२५ लाभग्राहीको पहिचान भएको छ। बाँकी लाभग्राहीले पहिलो किस्ता बापतको रकम पाउन बाँकी रहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिए।
उनका अनुसार पालिकाभर हालसम्म विभिन्न राजनीतिक दल, संघसंस्था तथा सरकारको अनुदानमा एक हजार ६०० अस्थायी आवासको निर्माण भएको छ। बाँकी अस्थायी आवास निर्माणको काम जारी रहेको उनले जानकारी दिए।
त्यस्तै, त्रिवेणी गाउँपालिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त सबै रकम अर्थात् दुई हजार ६९ लाभग्राहीका लागि आएको रकम खातामा पठाइएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिए। उनका अनुसार बाँकी ६७३ लाभग्राहीका लागि रकम माग गरेर पठाइएको छ। विवरण संकलनको काम अझै जारी छ।
पालिकामा हालसम्म २२२ अस्थायी आवास निर्माण भएको र २६४ अस्थायी आवास निर्माणको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन कोषबाट मुसिकोट नगरपालिकामा ८६६ लाभग्राहीको रकम प्राप्त भएकामा हालसम्म ५९ लाभग्राहीलाई रकम पठाइएको नगरपालिकाले जनाएको छ। त्यहाँ हालसम्म ९०० भन्दा बढी लाभग्राहीको पहिचान भएको छ।
बाँफिकोट गाउँपालिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट एक हजार ६९९ लाभग्राहीलाई रकम गएको भए पनि कार्यकारी अधिकृत नहुँदा हालसम्म कुनै लाभग्राहीलाई अस्थायी आवास निर्माणका लागि रकम दिन नसकिएको गाउँपालिकाले जनाएको छ। अस्थायी आवास निर्माण गर्न प्राप्त भएको रकम अपुग भएपछि संघीय सरकारसँग रु.एक अर्ब दुई करोड माग गरी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए।