एनसेल प्रकरण : प्रमाण र कागजात संकलन कार्य भइरहेको प्रधानमन्त्रीको दाबी
एनसेलको शेयर खरीदबिक्री प्रकरणमा प्रमाण तथा कागजात संकलनको कार्य भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।
आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा आयोजित छलफलमा प्रधानमन्त्री दाहालले भने, “नियामक निकायहरूले आआफ्नो क्षेत्राधिकारमा रही वैदेशिक लगानी समेत रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको वैदेशिक लगानी, शेयर खरीदबिक्री, कर राजस्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन समेतको कार्य गरिरहेका छन्।”
यस्तै, अध्ययन तथा छानबिन समितिको सुझाव सहितको प्रतिवेदन प्राप्त भएपछि उक्त सुझावकै आधारमा सरकारले दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण तथा विदेशी मुद्रा सटही सुविधा र कर प्रशासन सुधारका लागि आवश्यक कदम चाल्ने पनि उनले बताए।
एनसेलको शेयर खरीदबिक्री प्रकरण सरकारलाई शुरूमै स्वाभाविक नलागेर आफूले निर्देशन जारी गरेको पनि उनले बताए। यस्तै, कहीं न कहीं गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको पनि प्रधानमन्त्री दाहालले बताए।
“यसमा कहींकतैबाट कानून विपरीतका कामकारबाही भएको पाइएमा कानून बमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी समितिमा गर्न चाहन्छु,” प्रधानमन्त्री दाहालले भने।
यसअघि संसद्को सार्वजनिक लेखा समितिले एनसेल बिक्री प्रकरणमा भएको कारोबार अपारदर्शी, शंकास्पद र अवास्तविक भन्दै अनुसन्धान नटुंगियुन्जेल खरीदबिक्री सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न नेपाल सरकारलाई निर्देशन दिएको थियो। यस्तै, उच्च अदालत, पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले अल्पकालीन आदेश मार्फत किनबेच भएका शेयर दर्तामा रोक लगाएको थियो।
सरकारले एनसेलको शेयर खरीदबिक्री प्रकरण अध्ययन गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति समेत गठन गरेको छ।