‘सरकारलाई एउटा काण्ड ढाकछोप गर्न अर्को काण्ड गराउनैपर्ने बाध्यता’
सत्ता साझेदार दल नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहालको एकवर्षे कार्यकाल भ्रष्टाचारै भ्रष्टाचारमा बितेको बताएकी छन्।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै सांसद न्यौपानेले एउटा काण्ड लुकाउन अर्को काण्ड गराउनैपर्ने अवस्थामा सरकार पुगेको धारणा राखेकी हुन्। “प्रधानमन्त्री हुने बित्तिकै यहाँले ‘भ्रष्टाचार विरुद्धको मेरो अभियान देशमा सुशासन’ भन्नुभएको थियो,” सांसद न्यौपानेले भनिन्, “प्रधानमन्त्रीज्यू, यहाँको यो एक वर्षको कार्यकालमा यति धेरै काण्डहरू भए कहिलेकाहीं त यस्तो लाग्छ- एउटा काण्ड ढाकछोप गर्न अर्को काण्ड घटाउनैपर्ने बाध्यता आइपरेको हो कि जस्तो देखिन्छ।”
दाहालको कार्यकालमा अन्तर्राष्ट्रिय विमानस्थल ढुक्कसँग तस्करी गर्ने अखडा बनेको उनको आरोप छ। बैठकमा उनले भनिन्, “तस्करहरू विमानस्थलबाट जीउभरि सुन बोकेर आउन थालेका छन्।”