चीनमा भूकम्प, सयभन्दा बढीको मृत्यु
चीनको उत्तर-पश्चिमी क्षेत्रमा गएराति गएको भूकम्पमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते छन्।
चिनियाँ सञ्चारमाध्यमका अनुसार सोमबार मध्यराति गन्जु प्रदेश केन्द्रबिन्दु भएर भूकम्प गएको हो। अमेरिक भूगर्भ विभाग (यूएसजीएस)का अनुसार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो। यसको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ।
भूकम्पमा परी १११ जनाको मृत्यु भएको बीसीसीले जनाएको छ। त्यस्तै, २२० जना घाइते छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन्। राष्ट्रपति सीले खोज र उद्धारमा सम्पूर्ण शक्ति लगाउन भनेका छन्। घाइतेको ज्यान जोगाउन समयमै उपचारको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्।
भूकम्प गएको क्षेत्र चीनको दुर्गम भेग अन्तगर्त पर्छ। सबै प्रदेशमध्ये यो गरीब प्रदेश रहेको छ। जसले गर्दा पनि उद्धारमा कठिनाइ भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
भूकम्पले भत्किएका घरमा पुरिएका नागरिकको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएका छन्। यो क्षेत्र मंगोलियाको सीमासँग जोडिएको छ। चिसोका कारण पनि उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ। अहिले यो क्षेत्रको न्यूनतम तापक्रम माइनस १३ डिग्री सेल्सियस हाराहारी रहेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भूकम्पले ठूल्ठूला भवनमा क्षति पुगेको छ। थुप्रै भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ। जसले गर्दा बिजुली र पानीको आपूर्ति पनि अवरुद्ध छ।
दुई महीनाअघि पनि चीनमा भूकम्प गएको थियो। सिचुआन प्रान्तमा गएको ६.६ म्याग्निच्यूडको भूकम्पमा परी ६० जनाको मृत्यु भएको थियो।
चीनमा सबैभन्दा ठूलो भूकम्प सन् १९२० मा यही क्षेत्र केन्द्रबिन्दु भएर गएको थियो। त्यति वेला दुई लाख चिनियाँले ज्यान गुमाएका थिए।