विश्वविद्यालयका नाममा गेटा मेडिकल कलेजलाई अलमल्याइँदै छ : डा. गोविन्द केसी
स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नाममा सरकारले गेटा मेडिकल कलेजलाई अलमल्याइरहेको बताएका छन्।
डा. केसीले ७२ घण्टापछि सोमबार साँझ सत्याग्रह तोडेका छन्। धनगढीको कृष्णमन्दिर धर्मशालामा सत्याग्रह तोडेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गेटा मेडिकल कलेज वा प्रतिष्ठानलाई अलमल्याउन विश्वविद्यालयको अवधारणा ल्याइएको बताए।
“मेडिकल कलेज हुन नदिन र निजी अस्पतालहरूलाई सम्बन्धन दिन मात्र सरकारले विश्वविद्यालयको अवधारणा ल्याएको हो,” डा. केसीले भने, “मेडिकल कलेज वा प्रतिष्ठान बनाउन चिकित्सा शिक्षा ऐनले स्पष्ट बोलेको छ। यो (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) कुन प्रक्रिया पूरा गरी अघि बढेको छ? खालि ऐन बन्दै छ भनेर जनतालाई भ्रममा पार्ने काम गरेको छ।”
उनले गेटामा ३०० शय्याको अस्पतालसँगै मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपयुक्त हुने बताए। विश्वविद्यालयका लागि ठूलो लगानी र जनशक्ति चाहिने भएकाले तत्काल सम्भव नहुने बताए।
चिकित्सा सुधारका लागि लामो समय काम गरेको स्मरण गर्दै अहिलेसम्म यस्तो प्रक्रिया कुनै पनि संस्था स्थापनामा नभएको बताए। “अहिलेको जस्तो प्रक्रिया कुनै मेडिकल कलेज वा प्रतिष्ठानमा भएको छैन,” डा. केसीले भने, “मसँग प्रतिष्ठान बनाउने सहमति भएको हो। अहिले एकाएक विश्वविद्यालय कहाँबाट आयो र किन आयो?”
सुदूरपश्चिमकै जनताको भलाइका लागि आफूले बोलिरहेको उनको भनाइ थियो। “मेरा लागि लडेको होइन, मेरो गाउँका लागि लडेको होइन, मैले त यहाँका जनताका लागि भनेको हो,” उनले भने।
आफू डाक्टर मात्र नभएर सबैजसो जिल्लाका धेरै गाउँ पुगेको बताए। सुदूरपश्चिमको अवस्था पनि थाहा पाएरै मेडिकल कलेज स्थापना गर्न माग गरेको उनको भनाइ थियो। “म समग्र स्वास्थ्य सुधारका लागि लागिरहेको छु। म सबैलाई समान रूपको स्वास्थ्योपचार चाहन्छु,” डा. केसीले भने, “त्यसैले गेटा मेडिकल कलेज बनेमा यहाँका मानिसले सर्वसुलभ सेवा, दक्ष जनशक्ति प्राप्त गर्छन्।”
सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय नहोस् भन्ने आफ्नो चाहना नभएको उनले बताए। धेरै लगानी र जनशक्ति आवश्यक पर्ने विश्वविद्यालयको योजना असफल भई सुदूरपश्चिमकै जनताले दुःख नपाऊन् भनेर मेडिकल कलेज वा प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिएको डा. केसीको भनाइ थियो।
उनी तीनदिने सत्याग्रहका लागि मंसीर २९ गते सुदूरपश्चिम पुगेका थिए। गेटामा सत्याग्रह बस्न नदिएपछि धनगढीस्थित कृष्णमन्दिर धर्मशालामा सत्याग्रहमा बसेका थिए। आफूसँग भएका सहमति कार्यान्वयनका लागि दबाब दिन सत्याग्रहमा बसेको उनको भनाइ थियो।