२७ मंसीरदेखि आइएमई नेपाल लिटरेचर फेस्टिभल
आइएमई नेपाल लिटरेचर चेर फेस्टिभलको आठौँ संस्करण मंसीर २७ गतेदेखि ३० गतेसम्म पोखरामा हुनेभएको छ ।
आयोजक बुकवर्म फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा फेस्टिभलको यो संस्करणमा एकसयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीनदर्जनभन्दा बढी सेसनलगायतका सामग्री समावेश गरिने बताइएको छ ।
आयोजकका अनुसार, फेस्टिभलमा यसवर्ष भारतीय लोकसभाका सांसद एवम् साहित्यकार शशी थरुर, भारतीय प्रसिद्ध गीतकार एवम् कवि जाभेद अख्तर, अभिनेत्री शबाना आज्मीलगायतको सहभागीता हुनेछ ।
साथै महोत्सवको अर्को आकर्षण साहित्यमा दक्षिण एसियाकै अब्बल ‘डिएससी पुरस्कार’ वितरण समारोह रहनेछ । २५ हजार अमेरिकी डलर राशिबराबरको उक्त पुरस्कार भारतस्थित दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले आठ वर्षदेखि प्रदान गर्दै आएको हो ।
कार्यक्रममा फेस्टिभलका निर्देशक अजित बरालले डिएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच फेस्टिभललाई एक तटस्थ दक्षिण एसियाली मञ्चका रुपमा उभ्याउन मद्दत पुर्याउने बताए ।
फेस्टिभलले नेपाल भ्रमण वर्षलाई पनि सघाउने विश्वास लिएको नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले बताइन् । ‘यसले पोखरालाई ब्रान्डिङमा मात्र सघाएको छैन, पोखरालाई बौद्धिक गन्तव्य बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ उनले भनिन् ।
जनकपुरमा पनि
यसका साथै प्रदेश सरकार र सरोकारवालाहरूको पहलमा सांस्कृतिक एवम् ऐतिहासिक सहर जनकपुरमा पनि आउँदो कात्तिक १७ र १८ गते साहित्य महोत्सव गरिने घोषणा पनि गरिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं २ का संयोजक एवम् फ्याक्ट्स नेपालका प्रमुख कार्यकारी अधिकृत मनिष झाले ५०० वर्ष पुरानो धार्मिक र सांस्कृतिक सहर जनकपुरमा हुने महोत्सवले सहरको सांस्कृतिक, धार्मिक, साहित्यिक मूल्यमान्यतालाई पुनःस्थापना गर्न सघाउ पुर्याउने बताए ।
कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल फेस्टिभलसँग सहकार्यबाट खुसी लागेको बताए ।
आईएमईले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको कला, साहित्य, स्गीत आदि क्षेत्रमा आफ्नो सहभागिता जनाइरहेको र आगामी दिनमा पनि सहकार्य जारी रहने उनको भनाइ थियो।