शून्य डिग्री चिसोमा ‘इपिसेन्टर’ का बासिन्दा पालमै
सबैको ध्यान सुगम र शहर नजिकका गाउँमा केन्द्रित हुँदा भूकम्पको केन्द्रबिन्दु जाजरकोटको बारेकोटका बासिन्दा शून्य डिग्री सेल्सियसको चिसोमा पालमै रात काटिरहेका छन्।
शीत जमेको पाल टकटक्याउँदै शान्तबहादुर बुढा बाहिर निस्के। घाम झुल्किन केही समय बाँकी नै थियो। चिसोले उनका हातखुट्टा काँपिरहेका थिए। “पालमा त रात काट्नै गाह्रो हुन्छ,” उनी बोले।
उनको घर जाजरकोट भूकम्पको केन्द्रबिन्दु रहेको रामीडाँडा छेउछाउमै छ। गत कात्तिक १७ गते राति ११ः२३ बजे गएको ६.४ म्याग्निच्यूडको भूकम्पले ठूलो रामीडाँडालाई त हल्लायो मात्रै, आसपासको बस्तीमा भने जनधनको क्षति गर्यो। “पूरै रामीडाँडा भत्किएर गाउँमै झर्छ कि जस्तो लागेको थियो,” बुढाले त्यो रात सम्झिए।
जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण बारेकोटमा मानवीय क्षति नभए पनि घरहरू भने भत्किए। रामीडाँडाको छेउकै बारेकोट-१, सिर्पाचौरको बुढाको घर पनि भत्कियो। “गाउँका सबैजसो घर भत्किएका छन्,” उनी भन्छन्, “मेरो घर पनि भत्कियो। त्यो रातदेखि पालमै बसिरहेका छौं।”
भूकम्पपछिका केही दिन त पालमै पनि अप्ठ्यारो मानेका थिएनन्। जेनतेन धानेका थिए। जसै चिसो बढ्न थाल्यो, त्यसपछि भने रात काट्न मुश्किल हुँदै गएको उनी सुनाउँछन्। “यो त लेक हो, अब हिउँ पर्छ,” उनी प्रश्न गर्छन्, “हिउँमा कसरी बाँच्ने हो?”
उनी जस्तै सिर्पाचौरका बासिन्दालाई केही दिनमै पर्ने हिउँबाट कसरी जोगिने भन्ने चिन्ता छ। तर सिर्पाचौरमा अहिले नै न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसमा झरिसकेको छ।
पुस २ गते बिहान ८ बजे सिर्पाचौर पुग्दा न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको थियो। अझ बिहान र राति त माइनसमै पुग्ने गरेको छ। स्थानीय भूकम्पपीडितहरू पालमै बसेर शून्य डिग्री सेल्सियसको चिसो झेल्न बाध्य छन्।
सिर्पाचौर आसपासका बस्तीमा टाढाबाट घर सग्लै देखिन्छन्। नजिक पुग्दा भने भूकम्पले पारेको असर छर्लङ्गै देखिन्छ। सबैजसो घरमा चिरा परेको छ। कतै एउटा कुनो त कतै अर्को कुना भत्किएको छ। कतै छाना छैनन् त कतै भित्ता सग्ला देखिंदैनन्।
बारेकोट गाउँपालिकाको तथ्यांक अनुसार नौ वटै वडाका अधिकांश घरमा क्षति पुगेको छ। अस्थायी आवासका लागि पाँच हजार ५८६ निवेदन परेका छन्।
“सबैजसो घरमा क्षति पुगेको छ, बस्नलायक घर कुनै पनि छैन,” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्ती भन्छन्, “अहिलेसम्म सबै परिवार पालमै बसिरहेका छन्।”
जाजरकोट सदरमुकामबाट ३० किलोमिटर उत्तरको बारेकोटमा भूकम्पपछिको अस्थायी आवास निर्माणको कामले पनि गति लिन सकेको छैन। दुर्गम गाउँ भएकाले सरकारी सहयोग पनि समयमा पुग्न सकेन। त्यसपछि गाउँपालिकामा जनशक्ति अभावले काम गर्न कठिनाइ भइरहेको प्रमुख प्रशासकीय अधिकृत घर्ती बताउँछन्।
स्थानीय बासिन्दा अस्थायी आवास निर्माणमा जुटिरहेका छन्। तर सरकारले दिने पहिलो किस्ताको रकम नै ढिलो हुँदा डेढ महीना बितिसक्दा पनि प्रभावितले अस्थायी आवास बनाउन सकेका छैनन्।
प्रमुख प्रशासकीय अधिकृत घर्तीका अनुसार अहिलेसम्म ५८३ परिवारले मात्रै पहिलो किस्ताको रकम बुझेका छन्। सरकारले अस्थायी आवास निर्माणका लागि पहिलो किस्तामा २५ हजार रुपैयाँ दिइरहेको छ।
अझै पाँच हजार तीन परिवारले पहिलो किस्ता पाउनै बाँकी छ। “एक त माथिबाटै ढिलो आयो, अर्को जनशक्ति नभएर वितरण गर्न ढिलाइ भयो,” उनी भन्छन्।
जसले गर्दा भूकम्प प्रभावितहरू शून्य डिग्री सेल्सियसको कठ्यांग्रिंदो जाडोमा पनि पालमै बस्न बाध्य छन्। २२ हजार जनसंख्या रहेको बारेकोटका अधिकांश स्थानीय आँगन, खेत तथा खाली चौरमा बसिरहेका छन्।
चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धामा समस्या देखिन थालेको छ। बालबालिकालाई रुघाखोकी र पखाला लाग्न थालेको छ। वृद्धवृद्धामा पनि रुघाखोकी र ज्वरोको समस्या देखिएको छ। पालैपिच्छे बालबालिका र वृद्धवृद्धा बिरामी परेका छन्। कतिपय स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइरहेका छन् भने कतिपय उपचार नगरेरै बसिरहेका छन्।
सरकारी तथा गैरसरकारी संघसंस्थाले लुगाकपडा, पालको व्यवस्था गरेकाले केही सहज भएको स्थानीय बासिन्दा सुनाउँछन्। अहिलेसम्म विभिन्न संघसंस्थाले उपलब्ध गराएको ओढ्ने-ओछ्याउनेले धाने पनि चिसो बढेसँगै समस्या बढ्ने स्थानीय बासिन्दा एवं हिमालय देवी आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर बुढा बताउँछन्। हिउँ पर्न थालेपछि भने अवस्था जटिल हुने बुढाको भनाइ छ।
पालमै पढाइ
गाउँलेको जस्तै हालत विद्यालयको पनि छ। बारेकोट गाउँपालिकामा रहेका ५३ वटै विद्यालयमा क्षति पुगेको छ। सबैजसो विद्यालय भवन भत्किएका छन्। केही विद्यालय भवनमा आंशिक क्षति पुगेको भए पनि प्रयोगमा ल्याउन सक्ने अवस्था छैन।
हिमालय देवी आधारभूत विद्यालयले पनि पालमै पढाइ गरिरहेको छ। घाम लागेको वेला चउरमै पठनपाठन गरिरहेको प्रधानाध्यापक बुढा बताउँछन्। “सबै विद्यालय भवनमा क्षति पुगेको छ, कक्षाकोठामा बस्न सक्ने अवस्था छैन,” उनी भन्छन्, “अहिलेसम्म पालमै पढाइ गरिरहेका छौं।”
विद्यालय सञ्चालनमा आए पनि भूकम्पअघिको जस्तो अवस्थामा भने फर्किन सकेको छैन। अझै सबैजसो विद्यार्थी स्कूल पुग्न सकेका छैनन्। “शुरूआतमा त आपत् भयो, विद्यार्थी नै आएनन्,” प्रधानाध्यापक बुढा भन्छन्, “शिक्षकले घर घरमा गएर सम्झाइबुझाइ गर्यौं। बल्ल अभिभावकले बालबालिकालाई स्कूल पठाउन थालेका छन्।”
स्कूलमा पनि नियमित पढाइ गर्न गाह्रो छ। घाम लागेको वेला चउरमा लेखपढ त हुन्छ, पानी परेको वेला भने कक्षा चल्दैन। पाल टाँगेर बनाएका कक्षाकोठामा पनि लेखपढ गर्न मुश्किल हुने गरेको उनी बताउँछन्। अत्यधिक चिसोका कारण विद्यार्थीलाई अध्ययन गर्न सकस हुने गरेको उनी सुनाउँछन्।