धरौटी तिर्न नसक्दा जेलभित्रै एक शरणार्थी
नक्कली भूटानी शरणार्थी प्रकरणमा अदालतले धरौटी राखेर जेलमुक्त गर्न आदेश दिए पनि १५ लाख रुपैयाँ बुझाउन नसक्दा भूटानी शरणार्थी नेता टेकनाथ रिजाल कारागारमै छन्।
एक आगन्तुकले उनको हातमा नयाँ थर्मस थमाए।
बूढीऔंला र चोरऔंला रगडेर उनले मूल्य सोधे, “कति हो?”
“पर्दैन। राख्नोस् न,” आगन्तुकले यति भनेपछि उनी अर्थात् टेकनाथ रिजाल अप्ठेरो मान्दै हाँसे मात्र।
“चिसो छ, तातो पानी खाने भाँडो नभएर मगाएको थिएँ,” काठमाडौं सुन्धारास्थित केन्द्रीय कारागारको भेटघाट कक्षमा रिजालले भने, “धन्न! यस्तै हितैषीहरू कमाइएछ।”
भूटानी शरणार्थी नेता रिजालले शायद हितैषी त कमाए तर पैसा?
“धरौटी बापत अदालतले मागेको पैसा जुटाउन सकेको भए आज तपाईं र म यहाँ होइन अन्त कतै बसेर निस्फिक्री कुराकानी गरिरहेका हुने थियौं,” मुन्टो निहुर्याउँदै उनी बोले, “के गर्नु मनभित्र धेरै पीडा छ। यसको मुकाबिला नगरी पनि भा’ छैन।”
नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत, पाटनले रिजाललाई १५ लाख रुपैयाँ नगद, धरौटी वा ब्यांक जमानत दिएमा जेलमुक्त गरिदिन मंसीर १५ गते आदेश दिए पनि उक्त रकम जुटाउन नसक्दा रिजाल कारागारभित्रै छन्। न्यायाधीशद्वय प्रकाश खरेल र जनकप्रसाद पाण्डेको संयुक्त इजलासले रिजाल सहित सात जनालाई धरौटीमा छोड्न भनेको थियो। ६ जना धरौटी बुझाएर जेलमुक्त भइसकेका छन्। धरौटी जुटाउन नसकेर कारागारमै रहेका रिजाल मात्रै हुन्।
संयुक्त इजलासमा दुई न्यायाधीशबीच राय बाझिएपछि अर्को इजलासमा सुनुवाइ भएर नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण पनि ३० लाख रुपैयाँ धरौटी बुझाएर निस्किसकेका छन्।
नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा सामेल भएको अभियोग लागेका रिजाल भने अझै कतिन्जेल थुनामै रहने हुन् यकीन छैन। रिजालका वकील राजकुमार सुवालका अनुसार ‘शरणार्थी हुनुको व्यावहारिक कारणहरूले’ उनी थुनामै बस्नुपरेको हो। “रिजाल र उनकी पत्नीको खातामा केही रकम छ। तर मुद्दा चलेपछि खाता रोक्का राखिएको छ,” सुवाल भन्छन्, “ब्यांकबाट ऋण शरणार्थीले कसरी लिने? यस्तै कुराले उहाँका लागि धरौटी जुटाउन सकिएको छैन।”
अधिवक्ता सुवालका अनुसार रिजालका दुई छोरा क्यानडामा छन्। उनीहरू नगद पठाउन राजी भए पनि एकैचोटि पठाउन नमिल्ने, किस्ता किस्तामा पठाउँदा समय लाग्ने भएकाले ढिलाइ भइरहेको उनको भनाइ छ। “इष्टमित्रहरूले पनि जुटाउने कोशिश गरिरहनुभएको छ। हामी सबै विकल्पको प्रयोग गरेर धरौटी मिलाउने कोशिश गरिरहेका छौं,” सुवाल भन्छन्, “शरणार्थीलाई धरौटी जुटाउन थुप्रै व्यावहारिक अप्ठेरा हुने रहेछन्। यो साताभित्र व्यवस्थापन गर्न सकिन्छ कि भन्ने आशा छ।”
रिजाल पनि कोही शुभचिन्तकले सहयोग गरेमा मात्रै आफू धरौटी तिरेर निस्कन सक्छु कि भन्ने आशामा छन्। “सोचे जस्तो सजिलो छैन भनेर वकील र शुभचिन्तकहरूले भनिरहेका छन्,” छत्रे टोपी, खैरो रङको कोट लगाएका रिजालले सेताम्य दाह्री सुमसुम्याउँदै सुनाए, “अदालतले बाहिरै बसेर मुद्दा लड्न सक्ने आदेश दिए पनि म खुशी र पीडाको दोसाँधमै छु।”
रिजालले गिरोहसँग मिलेर नेपालीलाई भूटानी मानव अधिकार संगठनको परिचयपत्र बनाइदिएको आरोप छ। रिजालले ३४ जना नेपालीको नाममा यस्ता परिचयपत्र जारी गरेको अभियोग छ। परिचयपत्रमा आफूले हस्ताक्षर गरेको रिजालले अदालती बयानमा स्विकारेका छन्। बिचौलियाको भूमिकामा देखिएका सानु भण्डारी र केशव दुलालले भनेपछि कार्डमा हस्ताक्षर गरेको उनले अदालतमा बताएका छन्।
भण्डारी मार्फत नै तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई भेटेर गिरोहसँग साँठगाँठ गरेको अभियोग रिजालमाथि छ। रायमाझीलाई भेटेपछि आफूले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेको रिजालले अदालती बयानमा बताएका छन्। पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भने रायमाझीले भेटाउन नसकेको उनले बयानमा खुलाएका छन्।
रायमाझीको घरमा रिजालसँग भण्डारी, दुलाल र इन्द्रजित राईसँग भेटेको पनि अभियोगपत्रमा उल्लेख छ। साथै, भण्डारीको घरबाट बरामद डायरीमा ‘रिजालका लागि खर्च’ भनेर लेखिएको टिपोटलाई प्रमाणका रूपमा अदालतमा पेश गरिएको छ। डायरीमा भेटिएको तथ्य भने रिजालले इन्कार गरेका छन्।
यही अवैध काम गरे बापत रामशरण केसीबाट रिजालले ११ लाख रुपैयाँ लिएको कारोबारलाई पनि प्रमाणका रूपमा राखिएको छ। केसी आरोपितमध्येका एक हुन्। अदालतको बयानमा रिजालले केसीसँग लेनदेन भएको स्विकारे पनि उक्त कारोबार फरक विषयमा भएको जिकिर गरेका छन्।
यो मुद्दामा पक्राउ परेका २० जना अभियुक्तमध्ये रिजाल मात्र यस्ता पात्र हुन्, जसले प्रहरी अनुसन्धानमा भनेकै कुरा अदालतमा पनि दोहोर्याएका छन्। अर्थात् उनले इन्कारी बयान दिएका छैनन्। जिल्ला अदालत, काठमाडौंको थुनछेकको सुनुवाइमा पनि रिजालले न्यायाधीशसँग समय मागेर नेपाली नेताहरूका कारण आफू परिबन्दमा परेको पीडा बिसाएका थिए। “मुलुकको गृह मन्त्रालयका उच्चपदस्थ, उच्च राजनीतिक व्यक्तिहरूलाई भेटाइएपछि विश्वास गरेको थिएँ,” उनले भनेका थिए, “म शरणमा परेको व्यक्तिलाई सरकारमा बस्नेहरूले नै विश्वस्त तुल्याएपछि मेरो समुदायको हितका लागि केही काम गरें। मैले अदालतमा पनि भनेको छु। यही आधारमा मलाई निसाफ चाहियो। नत्र मलाई अदालतमै बाँधेर राखियोस्।”
अभियुक्तलाई थुनामा राखेर या बाहिरै राखेर अन्तिम फैसलाको प्रक्रिया अगाडि बढाउने भनेर थुनछेक बहसमा निर्क्योल गरिन्छ। जिल्ला अदालतले रिजाललाई धरौटीमा छोड्न इन्कार गरे पनि उच्च अदालतले उनको कुरा सुन्यो। तर धरौटीको जोहो हुन नसक्दा उनी जेलभित्रै छन्।
यो गिरोहका आरोपित ३० जनामध्ये १० जना अझै फरार छन्। पक्राउ परेका २० जनामध्ये दुई जनालाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छोडेको थियो भने बाँकीलाई थुनामा पठाएको थियो। थुनामा पठाइएका र धरौटीमा छाडिएका दुवैले जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए। उच्चले निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृह मन्त्रालयका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्व सांसद आङटावा शेर्पा तथा बिचौलियाको भूमिकामा देखिएका सन्देश शर्मा, केशवप्रसाद दुलाल, सानु भण्डारी, गोविन्द चौधरी, सागर राई सहित नौ जनालाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरिदिएको थियो। चार जनालाई भने साधारण तारेखमा छोड्न आदेश दिएको थियो।
ठगी, संगठित अपराध, लिखत कीर्ते, राष्ट्रहित प्रतिकूल र एकीकृत कसूरमा चलाइएको मुद्दामा उनीहरूबाट २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ बिगो तथा जरिवाना भराउन समेत माग गरिएको छ। २०७४ देखि २०७९ सम्म यो गिरोहले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं रकम उठाएको अभियोग छ।