जाजरकोट भूकम्प : आठबिसकोटका ४२ सय लाभग्राहीलाई पहिलो किस्ता
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका चार हजार २८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्।
लाभग्राहीको खातामा रु.२५ हजारका दरले पहिलो किस्ता बापतको रकम जम्मा भएको हो।
अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापत रु.२५ हजारका दरले लाभग्राहीको खातामा रु.१० करोड ७० लाख ५० हजार पठाएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए। उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट भने सात हजार लाभग्राहीका लागि पहिलो किस्ता बापत रु.१७ करोड ५० लाख रकम प्राप्त भएको छ।
जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त बाँकी रकम पनि लाभग्राहीको ब्यांकमा खाता सञ्चालन हुने बित्तिकै पठाइने शाहले जानकारी दिए।
आठबिसकोटमा सात हजार लाभग्राही रहेकामा पछि नौ हजार ९६२ लाभग्राहीको संख्या यकीन भएको छ। जिल्ला विपद् व्यवस्थापन कोषबाट पहिलो किस्ता बापत अझै दुई हजार ९६२ लाभग्राहीका लागि रकम आउन बाँकी रहेको प्रशासकीय अधिकृत शाहले जानकारी दिए।
जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय जोखिम न्यूनीकरण कोषमा प्राप्त रकम ब्यांक खाता सञ्चालन भएका लाभग्राहीलाई धमाधम पठाउने काम भइरहेको नगरपालिकाले जनाएको छ। हालसम्म नगरपालिकामा दुई हजार २४० अस्थायी आवास निर्माण सम्पन्न भइसकेको र बाँकी तीन हजार ६९० अस्थायी आवास निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ।