रूसी सेनामा कार्यरत अर्का नेपालीको मृत्यु, कुशको शव बनाएर दाहसंस्कार
रूसी सेनामा कार्यरत थप एक नेपाली युवकको मृत्यु भएको छ भने परिवारजनले कुशको शव बनाएर दाहसंस्कार गरेका छन्।
तीन महीनाअघि रूसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका-१, दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको परिवारजनले बताए। नेपाल र रूस सरकारले भने परिवारजनलाई औपचारिक रूपमा कुनै जानकारी दिएका छैनन्।
रूसी सेनामै कार्यरत भरतका साथीले मृत्यु खबर दिएको भाइ मंगल शाहले बताए। “दाइका सहकर्मी कञ्चनपुरका रविन थापाले मेसेज गरेर मृत्यु भएको खबर पठाएका हुन्,” मंगलले भने।
भरतले सात वर्ष नेपाल प्रहरीमा काम गरेका थिए। त्यसपछि राजीनामा दिएर तीन वर्षअघि वैदेशिक रोजगारीमा दुबई पुगेका थिए। त्यहाँ सेक्युरिटी गार्डमा काम गरेका थिए।
अहिले उनको मृत्युको खबर दिने रविनले पनि भरतसँगै दुबईमा काम गरेका थिए। “सँगै कार्यरत रविनले दाइको मृत्युको खबर शुक्रबार पठाएका हुन्,” मंगलले हिमालखबरसँग भने, “मेसेजमा २६ नोभेम्बर (मंसीर १० गते) मा लडाइँका क्रममा मृत्यु भएको भनेका छन्।”
मंसीर दोस्रो साता त परिवारजनले भरतसँग कुराकानी पनि गरेका थिए। त्यति वेला ठीकै भएको बताएको मंगलले सुनाए। “दाइसँग कुराकानी नभएको तीन साता भयो, एक्कासि मृत्यु भएको खबर आयो,” उनले भने।
सरकारी निकायबाट आधिकारिक जानकारी नआएपछि उनको परिवार रनभुल्लमा परेको थियो। परिवारजनबीच सरसल्लाह भएपछि अन्तिम संस्कार गर्ने निचोडमा पुगेको हो। “सरकारले त अहिलेसम्म जानकारी पनि दिएन,” भाइ मंगलले भने, “शव आउने-नआउने टुंगो नभएपछि आज कुशको शव बनाएर परम्परा अनुसार अन्तिम संस्कार गरेका हौं।” भरतका श्रीमती, चार वर्षका छोरा र तीन महीनाकी छोरी छन्।
रूसी सेनामा भर्ती भएर युक्रेनसँगको लडाँइमा ज्यान गुमाउने भरत एक्ला नेपाली होइनन्। यसअघि पनि पाँच जना नेपालीले ज्यान गुमाइसकेका छन्।
परराष्ट्र मन्त्रालयको अभिलेख अनुसार गोरखाका सन्दीप थपलिया रूस-युक्रेन युद्धमा ज्यान गुमाउने पहिलो नेपाली हुन्। उनले रूसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका थिए।
त्यसपछि इलामका गंगाराज मोक्तानले पनि ज्यान गुमाए। त्यस्तै, दोलखाका राजकुमार रोका, कुसुम लामा रोका र स्याङ्जाको पुतलीबजार-५, ठूलास्वाराका प्रितम कार्कीले पनि रूस-युक्रेन युद्धमा ज्यान गुमाएका छन्।
रूसी सेनामा भर्ना हुन सरकारले कुनै सम्झौता गरेको छैन। भिजिट तथा विद्यार्थी भिसामा रूस पुग्ने नेपाली युवा त्यहाँको सेनामा भर्ती भइरहेका छन्। केही अघि एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले रूसी सेनामा करीब २०० नेपाली युवा रहेको जानकारी प्राप्त भएको बताएका थिए।
यो पनि पढ्नुहोस् : रूस-युक्रेन युद्धमा ज्यान गुमाउँदै नेपाली, अनदेखा गर्दै सरकार