उमेरमा परिवारले एक्ल्याउँछ, बुढ्यौलीमा राज्यले
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू युवा अवस्थामा परिवारले र बुढ्यौलीमा राज्यले एक्ल्याउने गरेको गुनासो गर्छन्।
शरीर महिलाको भए पनि स्वभावले पुरुष हुन्, अकली चौधरी। आफूलाई सधैं पुरुषकै पहिचानमा देखाउन चाहे। तर परिवारले ढाकछोप गर्न खोजिरह्यो। महिलाकै रूपमा हुर्कायो। नमान्दा यातना दियो।
त्यसैले उनी अहिले काठमाडौंमा एक्लै बस्दै आएका छन्। कोभिड-१९ का वेला कति रात सडकमा पाउरोटी खाएर बिताएको अकली सम्झन्छन्। यो एक्लोपन उनको मात्र नभएर अरू थुप्रै यौनिक/लैंगिक अल्पसंख्यकको पनि भोगाइ हो।
केहीले ‘जीवनसाथी’ का लागि घरपरिवार छाडेका छन्। अनि साथी बितेपछि फेरि एक्लै हुन पुगेका छन्। उदाहरण हुन्, समलिंगी महिला सुकमाया मगर। उनी आफ्नी महिला साथीसँग दुई दशक ‘पतिपत्नी’ कै व्यवहारमा रहिन्। तर साथी बितेपछि सम्पत्तिमा साथीकै परिवारले दाबी गर्यो।
संयुक्त ब्यांक खातामा ‘साथी’ मात्र उल्लेख थियो। किनकि नेपालमा समलिंगी विवाहलाई मान्यता दिइएकै थिएन। यसै कारण ब्यांक खाता र सम्पत्ति दुवैमा सुकमायाको पहुँच रहेन। बुढेसकालमा एक्लो र बेसहारा त भइन् नै, आर्थिक स्तर पनि खस्कियो।
लैंगिक तथा यौनिक अल्पसंख्यकका यस्ता थुप्रै भोगाइ एउटै पुस्तकमा उनिएर आएका छन्। मितिनी नेपालले गत मंसीर २६ मा यो समुदायका ज्येष्ठ नागरिकका जीवनकथाको सँगालो सार्वजनिक गरेको छ। नाम दिइएको छ- हाम्रो जीवन, हाम्रा कथाहरू: नेपालका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक। संस्थाले लामो अनुसन्धानपछि यो पुस्तक तयार पारिएको जनाएको छ।
पुस्तकमा १० जनाका जीवनकथा समेटिएका छन्। तिनले उठाएका साझा दुःख प्रायः यस्ता छन्- पहिचान खुलेपछि परिवारबाट पाएको प्रताडना, समाजको तिरष्कार, परिवारबाट जबर्जस्ती विवाह अनि त्यसरी विवाह गरिएको साथीसँगको बेमेल आदि। यस बाहेक ज्येष्ठ नागरिकले भोग्नुपरेका थप समस्या यिनले उजागर गर्छन्। धेरै जना बुढेसकालमा एक्लै परेका छन्। कतिपयले आफ्नो पहिचान खुलेपछि त्यसलाई स्वीकार गर्ने जीवनसाथी नै भेट्दैनन्।
बुढेसकालमा एक्लै हुनु नपरोस् भनेर उनीहरूले बच्चा पनि पाल्न खोज्छन्। तर नेपालमा स्पष्ट रूपमा पुरुष र महिलाको लैंगिक पहिचान रहेका विवाहित जोडीले मात्र धर्मसन्तान पाल्न पाउने नियम छ। लैंगिक तथा यौनिक अल्पसंख्यकले पालेका धर्मसन्तानको वैधानिकता हुँदैन। समलिंगी जोडी मिलन र निर्मला बास्तोलाले धर्मपुत्री पालेका छन्। तर १४ वर्ष भइसक्दा पनि जन्मदर्ता हुन सकेको छैन।
त्यसैगरी नागरिकतामा नाम र लिंग एउटा उल्लेख रहेका तर पछि लैंगिकता बदलेकाहरू नयाँ पहिचान अनुसारको परिचयपत्र नपाउँदा सरकारी सेवासुविधाबाट वञ्चित छन्। पारलैंगिक महिला छोट्कनु चौधरीले नागरिकता बनाउन निकै संघर्ष गर्नुपर्यो। पन्नालाल चौधरीले ७० वर्षको उमेरमा समेत वृद्धभत्ता पाउन मुश्किल पर्यो।
“हामी यी मुद्दा समाधानका लागि सरकारसमक्ष पहल गर्दै छौं। त्यही क्रममा सर्वेक्षण सहित यो पुस्तक छापेका हौं,” मितिनी नेपालकी कार्यकारी अध्यक्ष सरिता केसी भन्छिन्। सरकारसँग यो समुदायका विभिन्न अपेक्षा छन्। जस्तै- आफ्नो पहिचान अनुसारको परिचयपत्र सजिलै पाइयोस्, त्यसकै आधारमा ज्येष्ठ नागरिकले पाउने सेवासुविधा दिइयोस्, विवाहलाई वैधानिकता दिइयोस्, धर्मपुत्र/पुत्री पाल्न पाइयोस्, बच्चालाई छोरा/छोरी जस्ता शब्दको सट्टा लैंगिकता नखुल्ने ‘सन्तान’ जस्तो शब्द प्रयोगमा ल्याइयोस्, ज्येष्ठ नागरिकका लागि बनाइने आश्रमहरू यो समुदायका सदस्यलाई समेत अनुकूल हुने गरी बनाइयोस्।
“सबभन्दा महत्त्वपूर्ण कुरा आवासगृह नै हो किनकि अक्सर यो समुदायका मान्छेको परिवार हुँदैन वा पार्टनर बितेपछि उनीहरू नितान्त एक्लो हुन्छन्। आवासगृहका कर्मचारीले पनि यो समुदायका मुद्दा बुझेको हुनुपर्छ,” पारलैंगिक महिला मिनी चक्रधर भन्छिन्।
यस बाहेक समाजले पनि थुप्रै कुरामा परिवर्तन गर्नुपर्ने उनीहरूको बुझाइ छ। “अस्पताल जाँदा स्वास्थ्यकर्मीले नै हामीलाई नराम्रो व्यवहार गर्छन्। कतिपय स्वास्थ्यकर्मीलाई यो समुदायका मानिसको विशेष शारीरिक अवस्थाबारे थाहै हुँदैन,” अर्की पारलैंगिक महिला कान्छीमाया थिङ भन्छिन्।
परिवारले जबर्जस्ती बिहे गरिदिएका घटना पुस्तकमा प्रायः पात्रैपिच्छे भेटिन्छन्। यसले सामाजिक धारणामै आमूल परिवर्तन ल्याउनुपर्ने आवश्यकतामा जोड दिइरहेको छ। यो समुदायको सबभन्दा ठूलो माग चाहिं रोजगार र आत्मनिर्भरता छ। काम पाउनै गाह्रो भएको, रोजगारी अभावमा कसैले सडकमै जीवन बिताउनुपरेको, पारलैंगिक महिलाले नटुवाको मात्र काम पाएको जस्ता गुनासा पुस्तकमा यत्रतत्र छन्। सबैजसो पात्रले एउटै आवाज उठाइरहेका छन्- स्वतन्त्र रूपमा बाँच्न पाउने गरी रोजगारका अवसर दिइयोस्।