रंगभूमि मैदानमा विवाह महोत्सवको उल्लास (तस्वीरहरू)
जनकपुरको रंगभूमि मैदानमा सीता-रामको विवाह स्मरणमा विवाहपञ्चमी महोत्सवको उल्लास छाएको छ।
हिन्दू धर्मग्रन्थ अनुसार त्रेता युगमा भएको सीता-रामको विवाहको स्मरणमा जनकपुरमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आइतबार दिउँसो सीता-राम स्वयंवर गरिएको छ। स्वयंवरका लागि बेहुली पक्षको नेतृत्व गर्दै जानकी मन्दिरबाट सीताको डोलालाई सजाइएको चाँदीको सिंघासनमा राखेर रंगभूमि मैदानमा ल्याइएको छ।
त्यस्तै, बेहुला पक्षको नेतृत्व गर्दै राम मन्दिरबाट भगवान् रामको डोलालाई सजाइएको सिंघासनमा राखेर रंगभूमि मैदानमा पुर्याइएको छ। यससँगै अन्य मठमन्दिरबाट ल्याइएका डोलालाई राखेर स्वयम्बर गरिएको हो।
आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रले तत्कालीन मिथिलाञ्चलको राजधानी जनकपुरमा शिव धनुष उचालेको र त्यसै आधारमा मार्ग शुक्ल पञ्चमी तिथिमा सीता-रामको विवाह भएको धार्मिक विश्वास छ। त्यसै अनुसार आज स्वयंवरको आयोजना गरिएको हो।
आजै राति सीता-रामको विवाह गरिनेछ। ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी पर्व मनाउने गरिन्छ। महोत्सवमा नेपालसँगै भारतबाट पनि भक्तजन आएका छन्।