दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई ६ लाख दिने सहमति
टिप्परको ठक्करबाट मृत्यु भएका दुवै युवकका परिवारलाई ६ लाख रुपैयाँका दरले राहत दिने सहमतिपछि दाङमा उत्पन्न तनाव साम्य भएको छ।
गएराति दाङको नारायणपुरमा टिप्परले ठक्कर दिंदा मोटरसाइकलमा सवार प्यूठानका दुई जनाको मृत्यु भएको थियो। मृतकका परिवारले टिप्पर चालकलाई कारबाहीको माग गर्दै आइतबार बिहानैदेखि प्रदर्शन गरेका थिए।
उनीहरूले सडकमै शव राखेर विरोध जनाएका थिए। बिहानैदेखि सडक पनि अवरुद्ध पारेका थिए। आन्दोलनको नेतृत्व गर्न प्यूठानबाट आएका झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेल सहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय, दाङमा भएको छलफलपछि दुवै पक्ष सहमतिमा पुगेका हुन्। दुर्घटनामा मृत्यु भएका दुवै जनाका आफन्तलाई राहत उपलब्ध गराउने सहमति भएको उपाध्यक्ष पोखरेलले बताए।
उनका अनुसार दुवै जनाको परिवारलाई ६ लाख रुपैयाँका दरले सहयोग प्रदान गरिने भएको छ। त्यस्तै, नयाँ मोटरसाइकल उपलब्ध गराउने र शवलाई प्यूठानस्थित घरसम्म पुर्याइदिने सहमति भएको पोखरेलले बताए। “सहमतिपछि शव प्यूठान लैजाने तयारी गरिरहेका छौं,” उनले भने।
टिप्परको ठक्करबाट झिमरुक गाउँपालिका-४, बांगेका १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका-६, लुङका १८ वर्षीय सागर केसी घाइते भएका थिए। घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनीहरूको ज्यान गएको थियो।