घरजग्गा बजारमा आएन सुधार, काठमाडौंमा पनि किनबेच सुस्त
सरकारको प्रोत्साहनका बावजूद घरजग्गा बजारमा अपेक्षित सुधार आएको छैन भने काठमाडौं लगायत प्रमुख शहरमा पनि किनबेच सुस्त देखिएको छ।
अर्थतन्त्रलाई चलायमान् बनाउन भन्दै सरकारले पछिल्ला महीनाहरूमा घरजग्गा बजारलाई उकास्ने एकपछि अर्को लचिलो नीति अघि सारिरहेको छ। गत साउनमा सरकारले कित्ताकाट खुलाएको थियो भने नेपाल राष्ट्र ब्यांकले घरजग्गा क्षेत्रमा जाने ब्यांकको कर्जालाई सजिलो बनाइदिएको छ। तैपनि घरजग्गा कारोबार अपेक्षित नबढेको तथ्यांकले देखाएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसीरमा देशभरि ४१ हजार ८५१ वटा घरजग्गाको किनबेच भएको छ। यो मासिक औसत कारोबारको तुलनामा सामान्य मात्रै बढी हो।
गत साउनमा ३९ हजार २६२ वटा घरजग्गाको किनबेच भएको थियो। भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ७९३ र कात्तिकमा २६ हजार ४६ वटा घरजग्गाको किनबेच भएको थियो। कात्तिकमा चाडपर्वका कारण आधाभन्दा बढी अवधि सरकारी कार्यालय बिदा भएका कारण घरजग्गा कारोबार सुस्त हुन पुगेको थियो। मंसीरमा अघिल्ला महीनाको तुलनामा घरजग्गा किनबेच बढे पनि ठूलो सुधार भने देखिएको छैन।
दुई वर्षअघि एकै महीनामा ७० हजार हाराहारीमा घरजग्गा किनबेच हुने गरेकोमा गत वर्षदेखि नै घरजग्गा बजारमा शिथिलता देखिंदै आएको छ। २०६८ मंसीरमा देशभरि ६९ हजार ४१२ वटा घरजग्गा कारोबार भएका थिए। घरजग्गा किनबेचलाई बढाउन सरकारले विभिन्न लचिला नीति अघि सारिरहेको भए पनि अपेक्षित परिणाम दिएको छैन।
गत जेठमा घरजग्गा किनबेच ५५ हजार नाघेपछि बजारले लय समात्ने अनुमान गरिएको थियो। तर त्यसयता बजार फेरि ओरालो लाग्न पुगेको छ।
घरजग्गा कारोबारलाई सहज बनाउन भन्दै गत साउनमा भू-उपयोग नियमावलीको मर्म विपरीत घरजग्गा कित्ताकाट फुकुवा गरिएको थियो। नेपाल राष्ट्र ब्यांकले पनि मौद्रिक नीति मार्फत कर्जाको सीमा बढाएको थियो। राष्ट्र ब्यांकले केही दिनअघि सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत घरजग्गामा जाने ऋणको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत बनाएको छ।
काठमाडौं उपत्यकामा घरजग्गा किनबेच अन्यत्रका तुलनामा झन् शिथिल देखिएको छ। उपत्यकाका नौ वटा मालपोत कार्यालयबाट मंसीरमा तीन हजार १७६ वटा घरजग्गा कारोबार भएका छन्। सबैभन्दा धेरै लगनखेल मालपोतबाट ८१० र भक्तपुर मालपोतबाट ७२६ वटा घरजग्गाको किनबेच भयो। मनमैंजु मालपोत कार्यालयबाट भने एउटा पनि घरजग्गा कारोबार भएन।
कारोबार तीव्र गतिमा भएको दुई वर्षअघिका तुलनामा काठमाडौं उपत्यकाको घरजग्गा कारोबार एकतिहाइमा ओर्लिएको देखिएको छ। २०७८ मंसीरमा काठमाडौं उपत्यकामा नौ हजार ३७६ वटा घरजग्गाको किनबेच भएको थियो। गत वर्ष देशैभरि घरजग्गा कारोबार शिथिल भएका वेला पनि मंसीरमा काठमाडौं उपत्यकामा तीन हजार १९५ वटा घरजग्गाको किनबेच भएको थियो।
घरजग्गाको चर्को मूल्यवृद्धि, अब मूल्य बढ्दैन भन्ने लगानीकर्ताको मनोविज्ञान तथा घरजग्गामा लगानी गर्ने सहकारी संस्था क्रमशः डुबिरहेका कारण घरजग्गा कारोबारमा मन्दी आएको अनुमान छ।