एनसेलको शेयर खरीदबिक्री विरुद्धको रिटको सुनुवाइ स्थगित
दूरसञ्चार सेवाप्रदायक एनसेलको शेयर खरीदबिक्री विरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगन भएको छ।
मलेशियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो स्वामित्व बिक्रीको सम्झौता गरेको थियो। गत मंसीर १५ मा आजियाटाले आफू अन्तर्गतको रेनाल्ड होल्डिङ्स लिमिटेड (जसको एनसेलमा ८० प्रतिशत शेयर छ) बिक्रीका लागि स्पेक्ट्रलाइट यूकेसँग सम्झौता गरेको थियो।
एनसेलको ८० प्रतिशत शेयर खरीदबिक्री भएपछि सांसद अमरेशकुमार सिंहले मंसीर २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा एनसेलको शेयर खरीदबिक्री प्रक्रिया तत्काल रोक्न र कानूनी मान्यता नदिन अन्तरिम आदेश गर्न माग गरेका छन्।
सो मुद्दा आज न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेशी तोकिएको थियो। तर सांसद सिंहकै पक्षका कानून व्यवसायीले पेशी स्थगन गर्न माग गरेको सर्वोच्च अदालतले जनाएको छ। निवेदकका कानून व्यवसायीको माग बमोजिम पेशी स्थगन भएको छ।
यसअघि यो रिटमाथि पाँच पटक पेशी तोकिएको थियो। तर जहिल्यै ‘हेर्न नभ्याइने’ मा परेको थियो। अर्को पेशी तय भएको छैन।
रिटमा एनसेल आजियाटा लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजस्व विभाग ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ।
यो पनि पढ्नुहोस् : एनसेल किनबेचमा कर छलीको अपूरो भाष्य