नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक चार घन्टा यातायात बन्द हुने भएको छ।
सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्ता काट्नुपर्ने भएकाले पुस ७ गतेदेखि सवारी बन्द गर्न लागिएको हो। बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यले बताए। उनका अनुसार पहिलो चरणमा तीन साताका लागि सडक रोकेर भित्ता काट्न लागिएको हो।
गत वर्ष यो ठाउँमा पुल निर्माणका लागि भित्ता काटिएको भए पनि चट्टान कडा भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो। विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एक पटक सडक रोकेर काट्ने तयारी गरिएको हो। चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारी सहितको उपस्थितिमा बसेको अन्तरजिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो।
सूचना अधिकारी आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ। बाँकी ३५ मिटर ‘रक स्प्लिटर’ र ‘हाइड्रोलिन ज्याक हेम्भर’ प्रयोग गरेर फोर्ने तयारी गरिएको छ। उनले भने, “टनेल, खानी लगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गर्दै छौं।” यसबाट पनि फोर्न नसकिएमा अन्तिम विकल्पका रूपमा विस्फोट गराइने उनले बताए।
सडकका १९ पुलमध्ये चार पुलको निर्माण चार वर्षअघि गरिएको थियो। बाँकी १५ पुलमा एकैसाथ ठेक्का लगाइएको थियो। अन्य कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन्। भित्ता भत्काउन नसक्दा केही पुलमा काम थाल्न सकिएको छैन।
काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महीनाभित्र सञ्चालनमा आउनेछन्। उनका अनुसार चार वटा एक महीनामै सञ्चालनमा आउँदै छन्। आठ वटै पुल सञ्चालनमा ल्याउन दुई महीना लाग्नेछ जनाएको छ।
गत मंसीरमा डुम्रे, चिसेन्जी, तोपे र लामो बालुवाको पुल सञ्चालनमा आएको उनले जानकारी दिए। थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुई वटा मात्र बन्न बाँकी छन्। आचार्यका अनुसार खहरेको पुल ६ महीनाभित्र सञ्चालनमा आउनेछ। यसपछि एउटा पुल मात्रै बाँकी रहनेछ।
गत हिउँदमा सडक रोकेर दुई वटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो। सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुल समेत निर्माण गरिसकिएको छ। यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको हो।
तुइन खोलाको ढिस्को भत्काउन नसकिएपछि विस्फोटका लागि प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमा नै विस्फोट गर्ने गृहकार्य गरिएको भए पनि काममा ढिलाइ भएको थियो। उनका अनुसार ढिस्को भत्काउन विस्फोटक पदार्थ ल्याउन अनुमति प्राप्त भइसकेको छ। आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय, पुनः गृह मन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको जनाइएको छ। विस्फोटक पदार्थ ल्याउन केही ढिलाइ हुने भएपछि अन्तिम प्रयासका रूपमा भत्काउने तयारी गरिएको हो।
२०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो। पुलको लागत एक अर्ब २८ करोड छ। पछिल्लो पटक थप गरिएको म्याद यही पुस १० गते सकिंदै छ। अनक कन्सट्रक्शनले पुलको ठेक्का पाएको थियो। यो राजमार्गलाई एशियाली विकास ब्यांक (एडीबी)को सहयोगमा एशियन मापदण्ड अनुसार बनाइएको हो। पुल ११ मिटर चौडा छन्।
सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ। राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। -रासस