पूर्व मन्त्री किराती लगायत नेताहरूको रिहाइको माग गर्दै सडक बन्द गर्न उत्रिएका आठ जना प्रहरी नियन्त्रणमा
पूर्व मन्त्री गोपाल किराती लगायत नेताहरूको रिहाइको माग गर्दै सडक बन्दमा उत्रिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरात, युवा परिचालन समिति खोटाङका संयोजक निर्मल राई, जनता समाजवादी पार्टीका सचिव सुनील चाम्लिङ, संघर्ष समितिका सदस्य संगीता किरात, उपार्जुन चाम्लिङ, लक्ष्मी राई, सोनामहाङ राई र मेलिना राईलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।
मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेलको किरातचोकमा सवारी आवागमनमा अवरोध गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए।
नेकपा (एमाले)को ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ लाई लक्ष्यित गर्दै मध्यपहाडी राजमार्ग बन्द गराउने, कालो झन्डा देखाउने क्रममा विभिन्न जिल्लाबाट पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार प्रदेशभर सडक बन्द आह्वान गरेको थियो।
पहिचान पक्षधर पार्टी तथा जातीय संगठनहरू पुनः नामांकन संयुक्त संघर्ष समितिमा संगठित भएर विगत १० महीनादेखि प्रदेशको पुनः नामांकनको माग गर्दै आन्दोलनरत छन्। एमालेको अभियान कोशी प्रदेश प्रवेश गर्न लाग्दा अवरोधस्वरूप संयुक्त संघर्ष समितिले मंसीर २६ गतेदेखि अनिश्चितकालीन घुर्मी (उदयपुर) देखि लेगुवा (धनकुटा) सडक बन्द आह्वान गरेको थियो।
सोही बन्द सफल बनाउन हिंडेका र विरोधस्वरूप कालो झन्डा देखाउने क्रममा खोटाङ, भोजपुर, धनकुटा, झापा लगायत जिल्लाबाट केही नेता/कार्यकर्ता पक्राउ परेका थिए।