१५औं शताब्दीमा राजा दिलीपबमले लगाएको नियम पालना गरिरहेको गाउँ
म्याग्दीको बेनी नगरपालिका-५ मा अवस्थित गाजने गाउँमा सयौं वर्षदेखि कुखुरा र बंगुरपालन तथा घरेलु मदिरा उत्पादनमा प्रतिबन्ध छ।
१५औं शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वते राज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम (डिम्बबम) मल्लले बनाएको नियम अनुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बंगुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको हो।
राजा दिलीपबमले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै कुखुरा, सुँगुरपालन, बंगुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन्। यस गाउँमा बजारको मदिरा समेत बिक्रीवितरण हुँदैन भने बाहिरबाट लगेर कुखुरा तथा बंगुर बिक्री र काटमार पनि गर्न पाइँदैन।
गाजने गाउँमा रहेका २५ घरधुरीले सयौं वर्ष पुरानो नियमलाई पालना गर्दै आएका छन्। धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसात् गरी गाउँमा परापूर्वकालदेखि नै कुखुरा र बंगुरपालन तथा घरेलु मदिरा समेत उत्पादन नहुने जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिए।
“यो तत्कालीन राजाले बसालेको नियम हो। बीचमा केहीले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरूको परिवारलाई उक्त कदमले शुभ दिएन, क्षति भयो। अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्,” उनले भने।
अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने गाउँ शाकाहारी गाउँका रूपमा चिनिन थालेको छ। जगन्नाथ मन्दिरमा पूजाआजा गर्न रातो रङको फूल, टीका र अबीर पनि प्रयोग नहुने स्थानीय बताउँछन्। जगन्नाथ मन्दिरमा अबीरको सट्टा केसरी र रातो धजापताकाको सट्टामा पहेंलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेंलो र सेतो धजा चढाउने गरिन्छ।
तत्कालीन राजा दिलीपबमले १५औं शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थल समेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँ बताउँछन्।
पछिल्लो समय गाजने पर्यटकीय गाउँको रूपमा विकास हुन थालेको छ। जगन्नाथ मन्दिरमा पूजाआजा गर्नुका साथै अनौठा परम्परागत मान्यतालाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन्। यस्तै, गाउँको शिरमा रहेको केभहिलबाट धवलागिरि र अन्नपूर्ण हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। -रासस