खेतबारीमा फर्किंदै कोदो
शहरबजारमा माग बढेसँगै स्थानीय सरकारले बजार र अनुदानको व्यवस्था गरेपछि मकवानपुरका खेतबारीमा कोदो फर्किन थालेको छ।
बाजेबज्यैको पालामा मकवानपुरका राघव हुमागाईंको खेतबारीमा प्रशस्तै कोदो फल्थ्यो। आमाबुबाको पालामा केही कम भयो। कोदोका ठाउँ मकै, गहुँ र अन्य बालीले ओगट्यो। बिस्तारै तरकारी र नगदे बाली पनि लगाउन थालियो।
केही समय त हुमागाईंले पनि मकै उब्जाए। पछिल्लो समय भने उनले मकै छोडेर कोदोखेती शुरू गरेका छन्। “मकै राम्रोसँग फस्टाएन, त्योभन्दा कोदोमा फाइदा भयो,” उनी भन्छन्, “अहिले मकै छोडेर कोदोखेती गरिरहेको छु।”
स्थानीय सरकारले रैथाने बालीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएपछि उनी कोदोतिर लागेका हुन्। यसबाटै राम्रो आम्दानी हुनेमा उनी आशावादी छन्। हुन पनि मकवानपुरको भीमफेदी गाउँपालिकाले स्थानीय हावापानी र माटोसुहाउँदो अन्न तथा नगदे बालीलाई प्रोत्साहन गर्ने नीति लिएको छ।
यसले किसानमा केही आशा बढेको भीमफेदी गाउँपालिका–५ की कान्छीमाया बजू बताउँछिन्। उनले पनि मकै छोडेर कोदोखेती थालेकी छन्।

स्थानीय सरकारले रैथाने प्रजातिको बालीमा न्यूनतम समर्थन मूल्य तोक्दै अनुदानको पनि व्यवस्था गरेका छन्। मकवानपुरका भीमफेदी र मकवानपुरगढी गाउँपालिकाले कोदो, धानकोदो, फापर र जुनेलोको न्यूनतम समर्थन मूल्य तोकेका छन्। यससँगै अनुदानको पनि व्यवस्था छ।
अझ भीमफेदी गाउँपालिका–३ लाई कोदोको पकेट क्षेत्रकै रूपमा अगाडि बढाउने योजना ल्याएको छ। शहरबजारमा पनि कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाउन र कृषकलाई आयआर्जनमा सघाउन प्रोत्साहनको कार्यक्रम ल्याएको भीमफेदीका अध्यक्ष हिदम लामा बताउँछन्। “न्यूनतम समर्थन मूल्य तोकेका छौं, त्योभन्दा तल बेच्नुपर्ने अवस्था आउँदैन। तोकिएको मूल्यमा बेच्दा फाइदा नै हुन्छ,” अध्यक्ष लामा भन्छन्, “तोकिएको स्थानमा बिक्री गर्नेलाई थप अनुदानको व्यवस्था गरेका छौं।”
मकवानपुरगढी र भीमफेदी गाउँपालिकाले जारी गरेको समर्थन मूल्यको सूचना।
भीमफेदीले आफ्नो क्षेत्रभित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। गाउँपालिकाको आर्थिक विकास समितिको निर्णय अनुसार यस वर्षका लागि कोदो प्रतिकिलोग्राम ५५ रुपैयाँ र फापर प्रतिकिलोग्राम १०० रुपैयाँ मोल तोकिएको छ।
भीमफेदीमा अनुदान लिएर २६६ किसानले कोदोको खेती गरिरहेका छन्। उनीहरूले करीब एक हजार ६० रोपनी जग्गामा कोदो खेती गरिरहेको गाउँपालिकाले जनाएको छ। यसबाट यस वर्ष १०० मेट्रिक टन कोदो उत्पादन हुने आकलन गरिएको अध्यक्ष लामा बताउँछन्।
अनुदान पाएका किसान बाहेक गाउँपालिकाका अन्यले किसानले पनि कोदोखेती गर्दै आएका छन्। गाउँपालिकाभरि दुई हजार रोपनी जग्गामा कोदोखेती भइरहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।
मकवानपुरगढी गाउँपालिकामा गरिएको जुनेलो खेती।
त्यस्तै, मकवानपुरगढी गाउँपालिकाले पनि उत्पादनमा आधारित प्रोत्साहन अनुदान (रैथाने बाली) कार्यक्रम ल्याएको छ। यस कार्यक्रम मार्फत रैथाने बाली कोदो, धानकोदो, फापर र जुनेलोको न्यूनतम समर्थन मूल्य तोकेर अनुदानको व्यवस्था गरेको छ। कोदो र धानकोदो प्रतिकिलोग्राम ५४ रुपैयाँ, फापर प्रतिकिलोग्राम १०० रुपैयाँ र जुनेलो प्रतिकिलोग्राम ८४ रुपैयाँ मूल्य निर्धारण गरिएको गाउँपालिका कृषि अधिकृत चन्द्रकान्त चौधारी बताउँछन्।
किसानलाई बेचबिखनका लागि सजिलो बनाउन मकवानपुरगढी गाउँपालिकाले रैथाने बाली खरीदकर्ताका रूपमा कृषि सहकारी र कृषक समूहलाई सूचीकृत गरेको छ। गाउँपालिकाले तोकेको मूल्यमा किसानले कृषि सहकारी र कृषक समूहमा बिक्री गर्न सक्नेछन्। यसरी बिक्री गर्दा तोकिएको मूल्य बाहेक गाउँपालिकाले प्रतिकिलोग्राम थप १० रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँछ। जसबाट किसानले ६ रुपैयाँ र खरीदकर्ताले चार रुपैयाँ पाउने चौधरी बताउँछन्।
कोदोखेती गरे बापत प्रोत्साहन रकम लिंदै भीमफेदीका किसान।
संकलित रैथाने बालीलाई विविधीकरण गरी समूह र सहकारी मार्फत बिक्रीवितरणको प्रबन्ध मिलाइने चौधरी बताउँछन्। उत्पादन बढाउन प्रोत्साहनको कार्यक्रम ल्याइएको उनको भनाइ छ। गाउँपालिकाको तथ्यांक अनुसार अहिले मकवानपुरगढी गाउँपालिकामा ३६० मेट्रिक टन कोदो, १५ मेट्रिक टन फापर, पाँच मेट्रिक टन धानकोदो र पाँच मेट्रिक टन जुनेलो उत्पादन भइरहेको छ।
भीमफेदी र मकवानपुरगढी गाउँपालिकाले बजारसँगै अनुदानको पनि व्यवस्था गरेपछि किसान रैथाने बालीतिर आकर्षित छन्। दुवै गाउँपालिकाका आसपासका किसान पनि कोदो, धानकोदो, फापर र जुनेलो खेती गर्न थालेका छन्। यसअघि तरकारी र फलफूल खेती गरिरहेका किसान पनि कोदोतिर लागेको चौधरी बताउँछन्।