‘नेपाललाई १९८० को सन्धिले अन्तर्राष्ट्रिय जगत्मा सार्वभौम राष्ट्रको रूपमा चिनायो’
सय वर्षअघि नेपाल र बेलायतबीच भएको सन्धिले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा सार्वभौम राष्ट्रका रूपमा चिनाएको एक कार्यक्रमका वक्ताहरूले उल्लेख गरेका छन्।
नेपाल र बेलायतबीच २१ डिसेम्बर १९२३ अर्थात् १९८० पुस ६ मा मैत्री सन्धि भएको थियो। त्यो सन्धि सय वर्ष पुगेको अवसरमा ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा शुरू भएको द्विदिवसीय सम्मेलनका वक्ताले नेपाल र बेलायतको सम्बन्धबारे पनि चर्चा गरेका छन्।
‘संवत् १९८० नेपाल बेलायत सन्धि शतवार्षिकी सम्मेलन’ को उद्घाटन गर्दै नेपालका लागि बेलायती राजदूत रब फेनले त्यो सन्धिले नेपाल र बेलायतको सम्बन्धबारे संसारलाई जानकारी गराएको बताए। फेनले भने, “१९८० को सन्धिले मूख्यतः नेपाल र बेलायत दुवैलाई थाहा भएको कुरा संसारसमक्ष राख्यो। त्यो थियो, १९८० मा र त्योभन्दा धेरै पहिलेदेखि नै नेपाल स्वतन्त्र सार्वभौम राज्य रहिआएको छ। अपराजित, स्वतन्त्र, आफैंमा अडिग र तत्कालीन विश्वको महाशक्तिबाट समेत सम्मानित।”
त्यस्तै, पूर्व परराष्ट्र सचिव भरतराज पौडेलले यो सन्धिले नेपालको आत्मविश्वास बढाएको उल्लेख गरे। “इतिहासलाई हेर्दा के पाइन्छ भने, १९८० को सन्धिले दक्षिणएशियामा उपनिवेशवाद उत्कर्षमा रहेको वेलामा नेपाली कूटनीतिको लचिलोपन र अडानको उच्च उदाहरण प्रस्तुत गर्छ,” पौडेलले भने, “यो सन्धि गर्दाका समयमा भएको वार्ता प्रक्रियाले अन्तर्राष्ट्रिय जगत्मा नेपालको आत्मविश्वास पनि देखाउँछ। यो सन्धिले नेपाल भारतीय उपमहाद्वीपका रजौटाभन्दा फरक सार्वभौम थियो भन्ने स्थापित गर्यो।”
सम्मेलनको उद्घाटन सत्रमा शोधपत्र प्रस्तुत गर्दै राजनीतिशास्त्री टीकाप्रसाद ढकालले यो सन्धिले विश्वव्यापी रूपमा नेपालको सम्मान बढाएको उल्लेख गरे।
“नेपालका लागि १९८० को सन्धिले विश्वव्यापी सम्मान र अविवादित सार्वभौम हैसियतको स्वीकारोक्ति सिर्जना गर्यो। बेलायतका लागि भने यस सन्धिले औपनिवेशिक भूभागमा स्वतन्त्रताको प्रश्न उठिरहेको बखतमा दक्षिणएशियामा सैन्य स्थिरता सुरक्षित गरिदियो,” ढकालले भने, “यो सन्दर्भमा प्रथम विश्व युद्धमा रगत बगाउने नेपाली युवालाई बिर्सन हुँदैन, जसको बलिदानको बलमा चन्द्रशमशेरले यो सन्धि गरेका हुन्।”
त्यस्तै, ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिलका सचिव एवं सम्मेलनका संयोजक जीवन शर्माले कमै बहस हुने गरेको यो सन्धि महत्त्वपूर्ण रहेको बताए।
“औपनिवेशिक सन्धिहरूलाई प्रायः ‘असमान सन्धिहरू’ का रूपमा लिने गरिन्छ। सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को भारतसँगको मैत्री सन्धिबारे हुने सार्वजनिक बहसमा पनि यही भाष्य हावी भएको पाइन्छ तर सन् १९२३ को सन्धिबारे भने कमै विमर्श गरिन्छ,” शर्माले भने, “सन् १९२३ को सन्धिलाई यी सन्धि भन्दा फरक रूपमा कसरी बुझिन्छ र यो सन्धि गर्ने समयमा नेपाली शासकहरूले बेलायती शासकहरूसँग कसरी वार्ता गरे भन्ने बुझ्नु महत्त्वपूर्ण छ।”
सम्मेलनका सहसंयोजक एवं मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले १९८० को सन्धिका विषयमा विचारविमर्श गर्न सम्मेलन आयोजना गरिएको बताए।
“आश्चर्यजनक रूपमा प्राज्ञिक क्षेत्रमा हुने सन्धिको अध्ययन सन् १८१६ को सुगौली सन्धि र सन् १९५० मा भारतसँगको सन्धिको अध्ययनमा सीमित भएको छ,” दीक्षितले भने, “आधुनिक युगमा अन्तर्राष्ट्रिय जगत्मा नेपालको जग बसालेको भनिए पनि यस सन्धिको ऐतिहासिक व्याख्या छुटिरहेको छ।”
सम्मेलनको नेपालका लागि बेलायती राजदूत रब फेन र पूर्व परराष्ट्र सचिव भरतराज पौडेलले संयुक्त उद्घाटन गरेका हुन्। मदन पुरस्कार पुस्तकालय र बेलायत नेपाल एकेडेमिक काउन्सिलको संयुक्त आयोजना शुरू भएको सम्मेलनमा १६ जना इतिहासकार र समाज विज्ञान वेत्ताहरूको प्रस्तुति रहनेछ।
सम्मेलनमा सन्धिको भूराजनीतिक सन्दर्भ, यसको विषयवस्तु, मस्यौदा प्रक्रिया र राष्ट्र-राज्यका रूपमा नेपालका लागि सन्धिको निरन्तर सान्दर्भिकताबारे गहन छलफल हुनेछ।
सम्मेलनको पहिलो सेसनमा ‘दि टेक्सचर अफ नेपाल–यूके रिलेसन्स’ शीर्षकमा छलफल भएको थियो। रमेश ढुंगेल, हेमसागर बराल र शमिक मिश्र वक्ता रहेको यो सेसनको मोडरेसन प्रत्यूष वन्तले गरेका थिए।
यससँगै १९८० को सन्धिसँग सम्बन्धित प्रदर्शनी पनि सम्मेलनस्थलमा शुरू भएको छ। प्रदर्शनी पनि पुस १ गतेसम्म चल्नेछ।
यो पनि पढ्नुहोस्:
सम्वत् १९८० नेपाल बेलायत सन्धि शतवार्षिकी सम्मेलन तालिका