दानभन्दा ठूलो धर्म अरू केही छैन : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले दान नै सबैभन्दा ठूलो धर्म भएकाले असहायलाई सहयोग गर्न आग्रह गरेका छन्।
मकवानपुरको हेटौंडामा शनिबार हेटौंडा उपमहानगरपालिका–९ लामसुरेधापमा मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले मानवीय सेवामा जोड दिएका हुन्। “मानवताको निम्ति, पीडितहरूको निम्ति सेवा गर्नुभन्दा ठूलो धर्म केही पनि छैन,” दाहालले भने, “हाम्रो परम्परा, संस्कृति, प्रचलन पनि मन्दिरमा जाने भेटी चढाउने छ। दानभन्दा ठूलो धर्म अरू केही छैन।”
राज्यले मानव सेवा आश्रमले गरेको कामको उच्च मूल्याङ्कन गर्ने उनको भनाइ थियो। सहयोगापेक्षी सडक मानव मुक्त प्रदेशको अभियानमा प्रदेश सरकार नै लागेको वेला यो आश्रमको काम उच्च रहेको उनले बताए।
लामसुरेधापमा १४ करोड रुपैयाँको लागतमा आश्रमको भवन निर्माण गरिएको छ। आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले विभिन्न कारणबाट सडकपेटी र सार्वजनिक स्थलमा जीवन बिताउन बाध्य भएका अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, सडकआश्रित मानवको उद्धार, परामर्श, औषधोपचार एवम् पारिवारिक पुनर्मिलन गराउँदै आएको जानकारी दिए।
“हामीले साप्ताहिक रुपमा सडक अवलोकन, सहयोगापेक्षीको खोजी, उद्धार, संरक्षण र पारिवारिक पुर्नमिलन कार्य गरिरहेका छौ,” अध्यक्ष अधिकारीले भने।
बागमती प्रदेश सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणाको तयारी भइरहेको यसअघि गण्डकी र कर्णाली प्रदेश सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा भइसकेका छन्।
मानवसेवा आश्रम हेटौंडामा २१ बालबालिका, ७६ वृद्धा र १०७ वृद्ध गरी २०४ जना आश्रित छन्। हालसम्म आश्रमले एक हजार ५८१ जनाको उद्धर गरेकोमा ८३६ जनाको पारिवारिक पुनर्मिलन भएको छ।