पूर्व मन्त्रीको रिहाइको माग गर्दै यातायात बन्द
पूर्व मन्त्री गोपाल किरातीसहित ३५ जना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै कोशीमा यातायात बन्द गरिएको छ।
नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै मध्यपहाडी सडक बन्द गराउने, कालो झण्डा देखाउने क्रममा पूर्वी पहाडका बिभिन्न जिल्लाबाट पहिचान पक्षधर ३५ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। उनीहरूको रिहाइको माग गर्दै प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशीमा सडक बन्दको आह्वान गरेको हो।
सडक बन्दका कारण शनिबार बिहानैदेखि पूर्व पहाडको यातायात ठप्प भएको छ। खोटाङबाट छोटो तथा लामो दूरीका सवारी साधन नछुटेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।
पहिचान पक्षधर नेता तथा कार्यकर्ताले ठाउँ–ठाउँमा सडक अवरुद्ध पारेका छन्। यो बीचमा आवातजावत गर्ने गाडीलाई सुरक्षाको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए।
विभिन्न जिल्लाबाट पक्राउ परेका नेता तथा कार्यकर्तामाथि झुटो मुद्दा लगाउने, अपराधीलाई झैं हतकडी लगाएर गिरफ्तार गर्ने, कोशी नाम खारेजी गरि बार्ताको माध्यमबाट समस्या समाधान खोज्नुको सट्टा गृह–प्रसासन र सरकार दमनमा उत्रिएकाले शनिबार र आइतबार प्रदेशभर यातायात बन्द गरिएको संघर्ष समितिले जनाएको छ। बन्दमा बिरामी बोकेका, विवाहको गाडी, पूर्वनिर्धारित वनभोज र भ्रमणको गाडीलाई भने नरोकिएको संयुक्त संघर्ष समिति अन्तरगतको युवा परिचालन समिति खोटाङका संयोजक निर्मल राईले बताए।
पहिचान पक्षधर पार्टी तथा जातीय संगठन पुनः नामांकन संयुक्त संघर्ष समितिमा संगठित भएर १० महीनादेखि आन्दोलनरत छन्। उनीहरू कोशी प्रदेशको पुनःनामकरण गर्न माग गर्दै आएका छन्।
प्रदेशको पुःननामांकनको मागमा संघर्षरत संयुक्त संघर्ष समितिले कोशी नामकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान विरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेता योगेश भट्टराई र महेश बस्नेत लक्ष्यित विरोधका कार्यक्रम गर्दै आइरहेका छन्।
यही क्रममा उनीहरूले एमालेको मध्यपहाडी लोकमार्गको यात्रालाई लक्षित गरेर मंसीर २६ गतेदेखि अनिश्चितकालका लागि घुर्मी (उदयपुर) देखि लेगुवा (धनकुटा) सडक बन्द गरेका थिए। त्यस क्रममा खोटाङ, भोजपुर, धनकुटा, तेर्हथुम, संखुवासभा, उदयपुर, झापा लगायतका जिल्लाबाट ३५ जना पक्राउ परेका छन्।