जसका लागि डा. केसी सत्याग्रह बस्न गएका थिए, उनैले अवरोध गरे
शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसी जसका लागि सत्याग्रह बस्न काठमाडौं सुदूरपश्चिम पुगेका थिए, उनीहरुले नै अवरोध गरेका छन्।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन मार्फत सत्याग्रह बस्ने घोषणा गरेर डा.केसी साँझ सुदूरपश्चिमको कैलाली पुगेका थिए। कैलालीको गेटास्थित प्रस्तावित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सत्याग्रहमा बस्ने तयारी थियो।
आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न दबाब दिन उनी सत्याग्रहमा बस्न सुदूरपश्चिम पुगेका थिए। जसमा गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने पर्ने माग थियो। यसअघि पनि उनी गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न पर्ने माग गरी सत्याग्रहमा बसेका थिए।
त्यतिवेला सरकारले सम्झौता पनि गरेको थियो। त्यसैलाई कार्यान्वयनका लागि दबाब दिन उनले सत्याग्रह गर्न प्रस्तावित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय रोजेका थिए।
तर, प्रस्तावित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले गेटमै रोकेपछि उनी धनगढी आएका हुन्। धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा सत्याग्रह शुरु गरेको डा. केसीका सहयोगी डा. अमृत जैसीले बताए। गेटामा संघर्ष समितिले अवरोध गरेपछि लक्ष्मीनारायण मन्दिरमा सत्याग्रह शुरु गरिएको जैसीले बताए।
डा. केसीलाई प्रतिष्ठानको विषय आफ्नो मागको मुद्दा नबनाउन आग्रह गरेको संघर्ष समितिका संयोजक लोकराज पाण्डेको भनाइ छ। “डा. केसीले उठाएका सबै मागमा हाम्रो पनि समर्थन छ, तर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय नै भइसकेको अवस्थामा प्रतिष्ठानको विषयलाई लिएर सत्याग्रहमा बस्नु उचित होइन भनेर सम्झाउन खोज्यौं, तर उहाँले मान्नु भएन र त्यहाँबाट फर्किनु भयो,” पाण्डेले भने।
डा. केसीले सत्याग्रह शुरू गर्दै जुन मोडालिटी भए पनि चाडो गर्नुपर्ने आफ्नो माग भएको बताए। के स्थापना गर्ने के नगर्ने भन्ने विषयमा आफू जानकार भएको उनको भनाइ छ। “म प्रोफेसर हुँ, डाक्टर हुँ। प्रतिष्ठान के हो, विश्वविद्यालय के हो भन्ने मलाई थाहा छ,” डा. केसीले भने, “आर्थिक मन्दी छ भने विश्वविद्यालय बनाउन त बेसी पैसा चाहिन्छ नि!”
संघर्ष समितिले अवरोध गरे पनि आफ्नो आन्दोलन नरोकिने उनको भनाइ थियो। “देउवाजीले रोक्न खोजे, प्रचण्डजीले कोसिस गरे, ओलीजीले रोक्न खोजे। नेताहरूले रोक्न खोजेर मेरो आन्दोलन रोकिन्न, म लड्न रोकिनेवाला छैन,” उनले भने।
आफ्नो सत्याग्रहको शुरुआतदेखि सुदूरपश्चिम लगायत सबै प्रदेशमा स्वास्थ्य संस्था स्थापनाको माग गर्दै आएका डा. केसीले यस पटक तीन दिन सत्याग्रहमा बस्ने बताएका छन्। उनले आफूसँग गरिएका सम्झौता कार्यान्वयनसँगै संक्रमणकालीन न्याय प्रक्रियालाई छिटो टुंगोमा पुर्याउनका लागि दबाब दिन सत्याग्रहमा बसेको बताएका छन्।
सत्याग्रहका मागहरू:
१) सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस्।
२) यसअघि हामीसित भएका सम्झौताहरू कार्यान्वयन गरियोस्।
सरकारी अस्पतालहरूमा माग अनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने; गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने; चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने; जनसंख्या र भौगोलिक अवस्थिति अनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेल्धुरामा सरकारी मेडिकल कलेजहरू खोल्ने।
१०० शय्याभन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रमहरू शुरू गर्ने; विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्ड सहित कानूनी व्यवस्था गर्ने; ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै हामीसित यस अगाडि सम्झौता भए बमोजिमका मापदण्ड अनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्ने; एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने, सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त्य गर्नका लागि कानूनी व्यवस्था गर्ने।