सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक नलगाउन उच्च अदालतको आदेश
उच्च अदालत, पाटनले काठमाडौं महानगरपालिकाले गरेको सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले शुक्रबार रिटको अन्तिम टुंगो नलागेसम्म महानगरको निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश दिएको हो।
काठमाडौं महानगरपालिकाले मंसीर १२ गते सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो। यो निर्णय विरुद्ध श्रीराम टोवागो उद्योगले अदालतमा रिट दायर गरेको थियो।
सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न पाउनुपर्ने पक्षमा वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, पूर्णमान शाक्य, अधिवक्ताहरू दामोदर तिम्सिना, सन्तोष तिवारी, जयलाल भट्टराई, आकृति खनाल, असाङ्कनबहादुर मल्ल, दामोदर नेपालले बहस गरेका थिए।