सात जनालाई जन्मकैद फैसलाको विरोधमा जलेश्वरमा प्रदर्शन
सशस्त्र प्रहरीका असई थमन विकको हत्या सम्बन्धी मुद्दामा सात जनालाई जन्मकैद फैसला सुनाउने जिल्ला अदालत, महोत्तरीको आदेशको विरोधमा जलेश्वरमा प्रदर्शन गरिएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मा लगायत सात जनालाई जन्मकैदको सजाय सुनाइएपछि शुक्रबार महोत्तरी सदरमुकाम जलेश्वरमा प्रदर्शन गरिएको हो। अदालतको फैसलाप्रति असहमति जनाउँदै गरिएको प्रदर्शनमा लोसपा समर्थित नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता थियो।
अदालतले न्याय दिनुको सट्टा मधेश आन्दोलनका क्रममा झूटा मुद्दा लगाएका व्यक्तिलाई जन्मकैदको सजाय सुनाएकाले प्रदर्शनमा उत्रिनुपरेको स्थानीय संजित पाठकले बताए।
यसैबीच लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी गरी जिल्ला अदालतको फैसलाप्रति गम्भीर असहमति रहको र न्यायका लागि पार्टी अगाडि बढ्ने जनाएका छन्। ठाकुरले भनेका छन्, ‘स्वतन्त्र न्यायालय लोकतन्त्रको आत्मा हो। न्यायालयप्रति उच्च सम्मान प्रकट गर्दै महोत्तरी जिल्ला अदालतको उक्त फैसलाप्रति हाम्रो गम्भीर असहमति छ।’
यसमा निर्दोष व्यक्तिलाई फसाइएको ठाकुरको जिकिर छ। उनले भनेका छन्, ‘राजनीतिक अधिकार प्राप्तिको संघर्षमा लाखौं जनता सडकमा उर्लेको सन्दर्भमा कसैको मृत्यु हुनु एउटा दुःखद घटना हो नै तर तथ्य एवं वास्तविकता भन्दा बिल्कुलै फरक ढंगले निर्दोष व्यक्तिहरूलाई समेत राजनीतिक पूर्वाग्रहको आधारमा फसाइएकोमा सम्मानित अदालतबाट जन्मकैदसम्मको फैसला आउनुले हामी स्तब्ध तथा मर्माहत भएका छौं।’
त्यस्तै, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि प्रेस विज्ञप्ति जारी गरी फैसलाको विरोध गरेका छन्। उनले यसलाई दुर्भाग्यपूर्ण फैसला भनेका छन्।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका असई थमन विक आन्दोलनकारीको आक्रमणबाट घाइते भएका थिए। उनलाई उपचारका लागि जनकपुर लग्दै गर्दा आन्दोलनकारीले एम्बुलेन्समा आगजनी गर्नुका साथै कुटपिट गरी हत्या गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।
त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले प्रदेश सभा सांसद शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र राय, मोहन ठाकुर, सञ्जय साह र प्रदीप माझीलाई जन्मकैदको सजाय सुनाएको स्रेस्तेदार नूतन झाले बताइन्।
त्यस्तै, अदालतले नेकपा (एमाले)बाट निर्वाचित महोत्तरी-१ का प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरी र पवन कापरलाई सफाइ दिएको थियो। कर्तव्यज्यानमा २८ तथा एम्बुलेन्स आगजनीमा २५ जनामाथि मुद्दा चलाइएको थियो। अदालतमा उपस्थित नभएकाहरूको हकमा मुद्दा मुल्तबीमा राखिएको छ।