महोत्तरी अदालतको फैसला दुर्भाग्यपूर्ण : राजेन्द्र महतो
सशस्त्र प्रहरीका असईको हत्यामा संलग्न सात जनालाई जन्मकैद सुनाउने जिल्ला अदालत, महोत्तरीको फैसलाप्रति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले विरोध जनाएका छन्।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो। हत्यामा संलग्न रहेको आरोपमा २०७५ साउन २८ मा २८ जना विरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो।
आठ वर्षअघिको घटनामा मंसीर २८ गते जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले सात जनालाई जन्मकैदको फैसला सुनाएको थियो। सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाइएको हो।
अभिराम शर्मा लोसपाका प्रदेश सांसद हुन्। उनी मधेश प्रदेश सभामा संसदीय दलका नेता छन्।
त्यस्तै, अदालतले महोत्तरी-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको थियो। उनी नेकपा (एमाले)का सांसद हुन्। यसमा अभियोग लागेका १९ जना फरार छन्। उनीहरूको मुद्दा मुल्तबीमा राखिएको छ।
यही फैसलाको नेता महतोले विरोध गरेका हुन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गरी महतोले भनेका छन्, ‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा भएको मधेश आन्दोलनको समयमा भएका विभिन्न घटना, दुर्घटना र सोही बहानामा पूर्वाग्रही ढंगबाट आन्दोलनका अगुवा लक्ष्यित दायर भएको मुद्दामा आधारित रहेर महोत्तरी जिल्ला अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ।’
उनले यसका विरुद्ध उभिन आग्रह पनि गरेका छन्। जिल्ला अदालतको फैसलाले मधेशमा विकट स्थिति उत्पन्न गराएको जनाउँदै मधेश केन्द्रित दललाई एकजुट हुन आग्रह गरेका छन्।