सौरहामा पुस दोस्रो साता हात्ती महोत्सव
चितवनको सौरहामा पुस दोस्रो साता हात्ती महोत्सव हुने भएको छ।
सौरहामा पुस १० देखि १४ गतेसम्म १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८० आयोजना हुँदै छ। युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेस्टुरेन्ट एन्ड बार एशोसिएशन नेपालको सहकार्यमा क्षेत्रीय होटल संघ नेपाल चितवनले महोत्सव आयोजना गर्न लागेका हुन्। हरेक वर्ष आयोजना हुने गरेको महोत्सव कोभिड-१९ संक्रमणका कारण सन् २०१८ पछि आयोजना भएको थिएन।
यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा गरिंदै आएको महोत्सव यस वर्ष रत्ननगर नगरपालिका-७, मैनाहाचौरमा आयोजना हुने महोत्सव संयोजक ओमप्रकाश पाण्डेले बताए। महोत्सव अन्तर्गत हात्तीको शृंगार प्रतियोगिता, वनभोज आयोजना गरिनेछन्।
विगतका महोत्सवमा समावेश हुँदै आएका गतिविधिलाई परिमार्जन गरी हात्तीलाई दुःख नहुने गतिविधिलाई प्राथमिकता दिइएको उनले बताए। यसअघि सञ्चालन हुँदै आएका छावाहरूको फूटबल, हात्ती पोलो र हात्ती दौडलाई भने समावेश गरिएको छैन।
यस्तै, मैत्रीपूर्ण खेलकूद प्रतियोगिता, चितवनमा पर्यटनको सम्भावना र चुनौती विषयक अन्तरक्रिया, स्थानीय वेशभूषा, कला सहितको झाँकी प्रदर्शन, हात्तीको दिनचर्याबारे जानकारी, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, राष्ट्रिय एवं स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति, उत्कृष्ट पथप्रदर्शक, माउते, डुंगाचालक, जीपचालक, संरक्षणकर्मीलाई सम्मान लगायत कार्यक्रम राखिएका छन्।
अंग्रेजी नयाँ वर्षमा पर्यटकलाई आकर्षित गर्न आयोेजना गरिंदै आएको महोत्सवको तयारी पूरा भएको संयोजक पाण्डेले बताए। “हात्ती विना समग्र चितवनको पर्यटन कल्पना गर्न नसकिने सर्वविदितै छ,” उनले भने, “कोभिडले थलिएर लामो समयदेखि ठप्प पर्यटन व्यवसायलाई महोत्सवले ऊर्जा दिनेछ।”
महोत्सवमा प्लास्टिकजन्य पदार्थलाई निरुत्साहित गरिएको छ। आयोजक समितिले डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ। स्थानीय उत्पादनको बजारीकरणलाई समेत यस पटकको महोत्सवमा विशेष प्राथमिकता दिइएको संयोजक पाण्डेले बताए।