जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु, सहायक हवल्दार घाइते
बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ भने सहायक हवल्दार घाइते भएका छन्।
पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिंदा ड्यूटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते छन्। कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले बताए।
गएराति पूर्व-पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा ड्यूटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको थियो। घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ।
ठक्कर दिएर फरार जीपका चालक दाङको घोराही उपमहानगरपालिका-११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर-२ बाट नियन्त्रणमा लिएको छ।