हिउँ खेल्न टीएमजे (तस्वीरहरू)
तेह्रथुमको तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रमा हिउँ पर्न थालेसँगै आन्तरिक पर्यटकको घुमफिर शुरू भएको छ।
टीएमजेसँगै पाथीभरा मन्दिर क्षेत्रमा हिउँ पर्न थालेको हो। यस वर्ष मंसीरमै हिउँ परेको स्थानीय फुर्वा तामाङले बताए।
तीनजुरे क्षेत्र समुद्री सतहबाट एक हजार ७०० देखि पाँच हजार मिटरको उचाइमा पर्छ। तेह्रथुमको लालीगुराँस नगरपालिका र संखुवासभाको सिमानामा पर्ने यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ।
टीएमजे क्षेत्रमा हिउँ पर्न थालेपछि आन्तरिक पर्यटक आउन थालेको तामाङले बताए। अन्य याममा पनि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र टीएमजे क्षेत्र हिउँ परेपछि झन् रोमाञ्चक बनेको छ।
पूर्वको इटहरी, धरान, धनकुटा र तेह्रथुमको वसन्तपुर हुँदै टीएमजे पुग्न सकिन्छ। इटहरी तथा धरानबाट पाँच घण्टा गाडीमा हुइँकिएपछि टीएमजे पुगिन्छ।