एमाले नेताहरू भन्छन्- अध्यक्ष ओलीमाथि मुक्का प्रहार भयो भन्नु प्रायोजित हल्ला हो
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण वा हातपातको प्रयास नभएको बताएका छन्।
बिहीबार धनकुटाको लेगुवामा एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास भएको हो भन्ने प्रश्नमा उपाध्यक्ष पौडेलले भने, “एक जना रक्सीले मातेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो, आक्रमण प्रयास भएको हैन।”
आफ्नो पार्टीको ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ सफल भएको देख्न नसक्नेहरूले गलत हल्ला फैलाएको पौडेलको भनाइ छ।
एमाले महासचिव शंकर पोखरेलले पनि लेगुवा घटना सत्य नभएको जनाएका छन्। पोखरेलले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘अध्यक्षमाथि मुक्का प्रहार भयो भन्ने प्रचारबाजी प्रायोजित र भ्रमपूर्ण हो। यसबाट अभियानको सफलताले जलिरहेकाहरूको नियत भने उजागर भएको छ।’
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसँगै उभिएका एक जना एमाले नेताले घटनाबारे भने, “जुन व्यक्तिलाई प्रहरीले पक्राउ गर्यो, उहाँ बिहानैदेखि रक्सीले मातेर बस्नुभएको रहेछ। स्वागतको लाइनमा बस्नुभएको थियो। तर हातमा माला थिएन। स्वागतका लागि हातमाथि उठ्दा माला नदेखेपछि प्रहरीले पक्राउ गरिहाल्यो। नाराबाजी पनि केही गरेको सुनिएन।”