परराष्ट्र सचिवमा सेवा लम्साल
सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
परराष्ट्र मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्ने उनी पहिलो महिला हुन्। यसअघिका परराष्ट्र सचिव भरतराज पौड्यालले अवकाश पाएपछि लम्साललाई सचिवमा बढुवा गरिएको हो।
त्यस्तै, मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ। रथीमा बढुवा भएसँगै सिग्देल नेपाली सेनाको प्रधानसेनापति बन्ने लाइनमा छन्।
साथै, बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।