ग्लोबल आइएमई ब्यांकले ९ प्रतिशत लाभांश दिने
ग्लोबल आइएमई ब्यांक लिमिटेडले आफ्ना शेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।
ब्यांकको बिहीबार सम्पन्न १७औं वार्षिक साधारणसभामा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट शेयरधनीलाई आठ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनश शेयर वितरण गर्ने तय गरेको हो। प्रस्तावित बोनश शेयर वितरणपश्चात् ब्यांंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्ने जनाइएको छ।
त्यस्तै, साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ। ब्यांकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ।
यसैगरी, साधारणसभाले संस्थापक शेयरधनी समूहबाट तीन जना र सर्वसाधारण शेयरधनी समूहबाट तीन जनालाई सञ्चालक चयन गरेको छ। संस्थापक शेयरधनीेबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण शेयरधनीबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन्।
आर्थिक वर्ष २०७९/८० मा ब्यांंकको खुद ब्याज आम्दानीतर्फ अघिल्लो वर्षभन्दा ६ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ। खुद मुनाफामा अघिल्लो वर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ। त्यस्तै, चार खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने तीन खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको जनाइएको छ।