१९८० सालको दोस्तीको अहदको उल्लास!
सार्वभौम मुलुकको मान्यता पाउने गरी १९८० सालमा नेपाल र ब्रिटेनबीच सन्धि भएको सय वर्ष पुगेको छ। यो सन्धिका विविध विषयमा केन्द्रित भएर ‘नेपाल-ब्रिटेन सन्धि’ शृंखलामा चर्चा गर्नेछौं। साथै सन्धिका विषयमा विचारविमर्श गर्न ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा मंसीर ३० र पुस १ गते ‘संवत् १९८० नेपाल–बेलायत सन्धि शतवार्षिकी सम्मेलन’ हुँदै छ।
नेपाललाई सार्वभौम मुलुकको मान्यता दिलाउने ब्रिटेनसँगको सन्धिपछि ‘श्री ५ महाराजाधिराजको सलामी धुन’ पनि बजाइएको थियो। यस्ता केही समारोहमा ब्रिटिश राष्ट्रगानको धुन मात्र बज्थ्यो।
मोहन मैनाली
१९८० पुस ९ गते सोमबारको गोर्खापत्र साप्ताहिक ‘अत्यन्त हर्षपूर्वक आफ्ना प्रिय पाठक महाशयहरूका अगाडि... बडो आनन्ददायी अपूर्व समाचार लिएर उपस्थित’ भयो।
उसले लेख्यो, “यही पौष ६ गते शुक्रबारका दिन नेपाल र ग्रेट ब्रिटेनका बीचमा मित्रताको नयाँ सन्धीपत्र हुनाको उत्सव थियो। सम्वत १८७२ सालदेखि यी दुई मुलुकहरू मिलीजुली रहीआएका हुन तापनि यिनका बीचको यो प्राचीन मित्रताले अहिलेको यो सन्धीपत्रले जस्तो शोभा अघि पाएको थिएन।”
गोर्खापत्रका अनुसार सो सन्धिपत्रमा हस्ताक्षर गर्न लागिएको ठाउँ सिंहदरबारको ठूलो सभामण्डप घरतिर ध्वजापताका, गमला र फूलले सुसज्जित गराइएको थियो। अगाडिको पोर्टीको दायाँबायाँ नेपाल र ग्रेट ब्रिटेनका एक-एक वटा ठूला झन्डा टाँगिएका थिए। त्यसदेखि अघिल्तिरको सडकका दुबैतर्फ गाडिएका बाँसमा अरू साना कदका झन्डा खुशीले नाच्न लागे झैं फरफराइरहेका थिए।
दिउँसो १२ बजे जंगी तथा ‘सिभिल’ पोशाक लगाएका जंगी र निजामती भारदार एवं अफिसर सिंहदरबारमा सामेल भए। श्री राइफल पल्टनका जंगी पोशाक लगाएका १०० जवान ‘र्यांक एन्ड फाइल’ को ‘गार्ड अफ अनर राइफल ब्यान्ड’ सहित सभामण्डप अगाडि त्यसअघि नै खडा भइसकेका थिए।
मध्याह्न १२:१५ बजे जंगी पोशाक लगाएका कर्णेल, ब्रिटिश लिगेशनमा रहेका नेपाली अफिसर र मीरमुन्सी १० रिसल्ला समेत लिई ब्रिटिश ‘एनभ्वाय’ लाई चौकडी बग्गीमा राखेर ल्याउन मण्डप घरबाट रवाना भए।
१२:३० बजे गैह्रपल्टनका सुबेदार, जमादार, हवल्दार र पल्टनपिच्छे एक-एक सेक्सन खाकी पोशाक लगाई सभामण्डप नजिक लाइनमा खडा भए। उनीहरू ११ बजे नै टुँडिखेलमा सामेल भई सिंहदरबार आएका थिए।
१२ः३० बजे निजामतीमा सिभिल पोशाक नलगाएका र अफिसर, हाकिम, कलेज र स्कूलका अध्यापक, मास्टर, पण्डित, डाक्टर, अड्डा अड्डाका नौसिन्दासम्मका कारिन्दा र उर्दी भएका साहुमहाजन, चौधरी, जिमिदारहरू दस्तूर माफिकको पोशाक लगाई सभामण्डपको दायाँबायाँ टाँगिएका ठूला सामियानामा बसे। उनीहरू १० बजेतिर भद्रकाली मन्दिरनेर जम्मा भई त्यहाँ आएका थिए।
१२:३५ बजे रिसल्ला सहितको टोली ब्रिटिश ‘लिगेशन’ मा पुग्यो। टोलीले ब्रिटिश ‘एनभ्वाय’ लेफ्टिनेन्ट कर्णेल डब्लूएफटी ओकोनर तथा ‘असिस्टेन्ट एनभ्वाय’ कप्तान हार्मेलाई सिंहदरबारतर्फ हिंडायो। ‘एनभ्वाय’ बग्गी चढ्नासाथ ठमेल टुँडिखेलबाट ३१ तोपको सलामी दिइयो।
गोर्खापत्रले सभामण्डपभित्रको दृश्य पाठकलाई यसरी देखाएको थियो, “सभामण्डपभित्र जंगीमा लेफ्टेन र निजामतीमा नायब सुब्बासम्मका भारदार अफिसरहरूमध्ये जंगी पोशाक, सिभिल पोशाक जति दर्जा अनुसार अगाडिका सीटमा र खाकी पोशाक लगाएकाहरू पछाडितिरका सीटहरूमा १२:३० बजेसम्ममा बसिसकेका थिए।”
१२:५० बजे मण्डपमा श्री ३ महाराज चन्द्रशमशेरको सवारी भयो।
दिउँसो १ बजे ‘एनभ्वाय’ सभामण्डप आइपुगे। त्यहाँ रहेको गार्डले ‘प्रेजेन्ट आर्म्स’ गर्यो। ब्यान्डले ब्रिटिश राष्ट्रगानको शुरूको अंश बजायो।
त्यसपछिको वर्णन गोर्खापत्रले यसरी गरेको छ, “श्री ३ महाराजबाट बृटिश एनभ्वायलाई इरतकवाल गरी लगी एकछिन भलाकुसारीको कुरा कहानी गरी बक्सी सकेपछि उठीबक्सी सभामा रहेकाहरूलाई सम्बोधन गरी ‘बृटिश सरकारसँग नेपाल सरकारको दोस्तानाको एउटा नञा अहद हुने भएको छ। यसैनिम्ति तिमीहरू यहाँ जम्मा गरिएका छौ। सो हुने अहद यही हो, सुन’ भन्ने हुकुम बक्सियो।”
स्रोत: मदन पुरस्कार पुस्तकालय
“हुकुम मुतावीक अंग्रेजी र नेपाली बोलीमा लेखिएको सो अहद मान्यवर बडाकाजी मरीचिमान सिंहले पढी सुनाए। सबैले आल्हाद चित्तसँग त्यस्मा लेखिएका कुराहरू सुने,” गोर्खापत्रले लेखेको छ।
अहद पाठ भइसकेपछि त्यसमा सही गरिंदाको बखतको रिपोर्टिङ गोर्खापत्रले यसरी गरेको छ, “त्यति भएपछि सो अहदको कागज दुई प्रतिमा सहिछाप गर्न बिटिश एनभ्वायका साथ श्री ३ महाराज अगाडि बढी बक्सियो। सबै दर्बारियाहरू उभी खडा रहे। राज भएको ठाउँबाट अहदमा सहीछाप हुनालाई रहेको टेबलमा कलम मसी ल्हासाछाप सहित सामन्ने करीब ४।५ गज जति टाढामा थियो। १।१५ बजे बृटिश एनभ्वायको र श्री ३ महाराजको त्यसमा सहीछाप पर्यो। अहदमा दस्तखत परिशक्नासाथ बाहिर रहेका गार्ड र पल्टनले र्वायल स्यालुट प्रजेन्ट आर्म्सको सलामी गर्यो। ब्यान्डबाट बृटिश न्याशनल आन्थेमको पूरा पार्ट र पछि श्री ५ महाराजाधिराजको सलामी लगातारसित बजेको थियो। त्यसै वेला टुँडिखेलमा रहेका ब्याटरीबाट ३१ तोपको सलामी पनि भयो।”
यस्ता कुनै कुनै समारोहमा ब्रिटिश राष्ट्रगानको धुन मात्र बज्ने गरेकोमा यहाँ श्री ५ महाराजाधिराजको सलामी पनि बजाइएको थियो।
सात वटा दफा रहेको सो अहदको भूमिकामा भनिएको छ, “इसवी सन् १८१५ डिसम्बर २ तारिखका दिन सुगौलीको अहद भए उप्रान्त आजसम्म नेपाल सरकार र बृटिश सरकारका बीचमा शान्ति र मित्रता कायम रहिआएको; औ त्यस दिनदेखि नेपाल सरकारले बृटिश सरकारमाथि बराबर सच्चा दोस्ती देखाएको र बृटिश सरकारले पनि नेपाल सरकार उपर उस्तै अटुट प्रेम देखाइरहेको हुनाले; यस अवस्थामा सो १०० वर्ष भन्दा अघिदेखि कायम रहिआएको परस्परको असल सम्बन्ध र मित्रतालाई अझ झन् बलियो र बज्रलेप गराउन दुबै सरकारले अभिलाषा गरेका हुँदा यी ठूला दुबै सरकारले मित्रताको एक नयाँ अहद गर्ने ठहराई देहायका दफाहरू मंजूर गरेका छन।”
गोर्खापत्रले लेखेको छ, “अहदमा सही गरिसकेपछि बृटिश एनभ्वाय सहित श्री ३ महाराजको सवारी पहिलेकै ठाउँमा राज भयो। दर्बारियाहरू पनि आफ्ना आफ्ना सीटमा बसे।” त्यसपछि पहिले ‘एनभ्वाय’ र पछि श्री ३ महाराज दुबैले अंग्रेजीमा भाषण गरे। त्यसको उल्था मरीचिमान सिंहले पढेर सुनाए।
आफ्नो भाषणमा एनभ्वाय ओकोनरले पहिलो विश्वयुद्धमा नेपालले बेलायतलाई गरेको सैन्य सहयोगको खुलेर प्रशंसा गरे, “यति सानो मुलुक भइकन त्यस वेला नेपालले गरेको पुरुषार्थ धुमधामको हो भनी बयान हुन बहुतै मुनासिब छ। मुलुकका हैसियत र जनसंख्याको परिमाण ली दाँजी हेर्दा नेपालबाट भएको काम बृटिशका सहमतका कौनै राज्यको भन्दा कम देखिन आउँदैन। सालाखाला दशहजार भन्दा बढी नेपाली फौजले शुरु सन १९१५ देखि हिन्दुस्थानमा र हिन्दुस्थानका सेवाना (सिमाना)हरूमा रही सन १९१९ मा जनाब भाइसरायलाई डिल्लीमा कबायद देखाई आफ्ना मुलुकमा नफिरुन्जेलसम्म काम दिएका थिए। लडाइँभर अघि पछि रहेका बृटिश गोर्खा २० पल्टनको संख्या दोबर गराइएको थियो। फेरी धेरै अरु अरु दलमा पनि गोर्खालीहरू भर्ति भई सबै ठाउँ आफ्नो कीर्ति राखी काम दिएका थिए। यसरी त्यति ठूलो लडाइँको वेलामा एक न एक काममा रहीकन २ लाख गोर्खालीहरूले अर्थात नेपालका लडाकी जातका मानिसहरूको जम्मामा अन्दाजी झन्डै चार खण्डको एक खण्डले काम दिएका हुन्।”
उनले नेपालले गरेको अरू खालको मद्दतको पनि सह्राहना गरेका थिए, “अरू किसिमको मद्दतमा पनि नेपाली पछाडि हटेका थिएनन। नगद, दाम, मेशिनगन, फेरी लकडी इत्यादि आफ्ना मुलुकमा हुने चिजहरू एकपछि एक गरी चित्त फुकाई प्रशस्तसँग बराबर दिएका थिए। वास्तवमा बृटिश राज्यका निमित्त नेपालले गरेको मद्दत बहादुर लडाका गोर्खाली सुहाउँदो भएको छ। यी कामहरू बृटिश सरकार र बृटिश रैतीहरूले कदापि बिर्सेका छैनन, कहिल्यै बिर्सने पनि होइनन...।”
यसरी दस्तखत भएको अहदमा “निश्चित गराइनेछ। सो निश्चित भएको अहद हुन सकेसम्म चाँडो काठमाडौँमा लिनुदिनु पनि गरिनेछ” भनिएको थियो। यो भनेको ब्रिटिश र नेपाली महाराजबाट अनुमोदन भएको अहदको प्रति लिनुदिनु हो।
श्री ३ महाराजले आफ्नो सम्बोधनमा सन्धि गर्दाको प्रक्रियाबारे पनि उल्लेख गरेका छन्। जुन यसप्रकार छ, “यो कैयौं महिनासम्मलामो छलफल भई हुदै रहदाको काम कुरामा जो निपुणता कर्णेल ओकोनर बाट देखाउनू भएकोछ त्यस्को मैले मानेको कदर म याहाँ जाहेर नगरी सक्तीन। ग्रेट बृटेनको प्रतिनिधि भई उनिले आफ्नो सरकारको हकपट्टि लाग्नै पर्थ्यो। त्यस्तै मैले पनि आफ्नो मुलुकको हक खडा राख्न बल गर्नै पर्यो। यस्मा हामी दुइको राय वरावर फाट्ने पनि गर्थ्यो। त्यस्तो परी आउँदा कम्ता असल सहन शीलका कर्णेल ओकोनर रहेछन् भन्ने ज्ञान हामीलाई बेस गरी हुन आयो। राजकाजको विषयमा चतुरतार एक नासको नम्रता उनको जस्तो थियो, त्यो नहुदो हो त सो छलफलमा टक्कै काम अडिन जानू पनि बेरै थिएन। ततर कर्णेल ओकोनरले आफ्नो सरकार पट्टि भै आफुले गर्नु पर्ने कर्तब्य काम गर्दै रही कन पनी नेपालको हकको पनी मुनासिब बिचार तोलना राखी काम गर्न सक्नाको खूबी देखाए।”
गोर्खापत्रले लेखेको छ, “सो भाषण सकिएपछि बाहिर रहेका गार्ड पल्टन र व्यांडले महाराज स्यालुट गरे। टुँडिखेलमा रहेको ब्याटरीले १९ तोपको सलामी फायर गर्यो।”
गोर्खापत्रका अनुसार, त्यसपछि भायसरायले श्री ३ महाराजलाई पठाएको खलिता एनभ्वायले महाराजलाई दिए। सो खलिता पढेर त्यसको अनुवाद बडाकाजी मरीचिमान सिंले नै गरे।
त्यसपछि ब्रिटिश एनभ्वाय र असिस्टेन्ट एनभ्वायलाई अत्तरपानले सम्मान गरियो। त्यसपछि उनीहरूले सभामा रहेकाहरूसँग केही बेर कुराकानी गरे र लिगेशनतिर फर्किए। त्यसपछि सन्धिपत्र गराएकोमा कम्यान्डर इनचीफले श्री ३ महाराजको ‘प्रशंसायुक्त हार्दिक्य धन्यवाद चढाई नजर राखी दर्शन’ गरे। अरू भारदार तथा बाहिर रहेकाहरूले पनि नजर राखी दर्शन गरे।
सन्धि भएको उपलक्ष्यमा सारालाई दुई दिनको बिदा दिइयो। काठमाडौं र पाटनमा दुई दिन जुवा पनि फुकाइयो। “सोदीन को राती दरवार र भाइ भारादार हरू र अरु दुनिया दार हरूका घर घरमा पनि दिया बत्तीको सोभाले नेपाल राजधानी नै उज्ज्वल भई रहेको थियो,” गोर्खापत्रले लेखेको छ।
यो समाचारको अन्त्य पनि गोर्खापत्रले रोचक पाराले गरेको छ। उसले लेखेको छ, “यो अपूर्ब महोत्सब हेर्नालाई दिउसो दर्बार देखी भद्रकाली स्थान सम्म र उहाँबाट टुडिखेल मा बेगिन्ति दुनिया हरू जम्माभई बडो उत्फुल्ल नयन गरेर रमिता हेर्न लागी रहेका थिए। सबैको मुख हसीलो रसले भरिएका देखिन्थे। यो आल्हाद जनक समाचार ले नेपाली मात्र कस्लाई खुशी लागोइन!’
“हुन सकेसम्म चाँडो” गर्ने भनिएको यो काम साढे १५ महीनापछि १९८१ चैत २६ गते बुधबार मात्र हुन सक्यो। त्यस कामका लागि सिंहदरबारमा आयोजित समारोहको रिपोर्टिङ १९८२ वैशाख १ को गोर्खापत्रबाट, “... ठूलो बैठकमा भारादार अफिसरहरू सामेल थिए। सामुन्नेमा रहेको टेबिलमा दुबै तरफको सन्धिपत्र र सहिछाप गर्ने कलम मसी कागतहरू राखिएका थिए। श्री ३ महाराजको र बृटिश एनभ्वाय कर्णेल ओकोनरको एकछिन भलाकुसारीको कुरा कहानी भइसकेपछि बृटिश एनभ्वायलाई साथमा लिएर श्री ३ महाराजको सवारी सो टेबिलको नजिकमा गई श्री ५ सरकारबाट दस्तखत भई मोहर लागी दृढ गरिएको सन्धिपत्र (अहदनामा) श्री ३ महाराजबाट बृटिश एनभ्वायको हातमा बक्सियो। श्री ५ सम्राट पञ्चम जर्जको दस्तखत भई मोहर लागी दृढ गरिएको सन्धिपत्र (अहदनामा) बृटिश एनभ्वाय कर्णेल ओकोनरले श्री ३ महाराजको बाहुलीमा टक्य्राए। सो लिनेदिने काम भएको निस्सालाई दुबैतर्फबाट सही गरेको सर्टिफिकेट लिनुदिनु पर्ने दस्तुर हुनाले सो सर्टिफिकेटमा श्री ३ महाराजको र बृटिश एनभ्वायको सही छाप भई सो एक एक प्रति दुबै तर्फबाट लिने काम भयो।”
त्यसपछि ब्रिटिश ‘एनभ्वाय’ र श्री ३ महाराजले भाषण गरे।
यति वेला ब्रिटिश एनभ्वाय ओकोनरको ६ वर्षे कार्यकाल सकिन लागेको थियो।
(यस प्रस्तुतिका लागि चाहिने सामग्री संरक्षण गरिदिएको र जुटाइदिएकोमा मदन पुरस्कार पुस्तकालय र राष्ट्रिय अभिलेखालयप्रति हार्दिक आभार- लेखक)
यो पनि पढ्नुहोस्: