एमाले अध्यक्ष ओलीमाथि धनकुटामा हातपात प्रयास?
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि धनकुटामा हातपात प्रयास भएको छ।
एमालेको ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा भोजपुरबाट धनकुटा जाँदै गर्दा हातपात प्रयास भएको हो। धनकुटाको महालक्ष्मी नगरपालिका-५, लेगुवामा स्थानीय महेश राईले हातपात प्रयास गरेको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण भएको कार्यक्रमको भिडिओमा स्वागत गर्ने लाइनमा उभिएका स्थानीय बासिन्दाको बीचबाट महेश अध्यक्ष ओली नजिकै पुगेका देखिन्छन्। उनले नजिक पुगेर बायाँ हातले प्रहार गर्न लाग्दा सुरक्षाकर्मीले समातेका थिए। त्यसपछि दायाँ हातले प्रहार गर्न खोजेको देखिन्छ।
फूलमाला लगाएर स्वागत गर्न बसेको लाइनबाट माला दिने बहानामा महेशले आक्रमण प्रयास गरेको जिल्ला प्रहरी कार्यालय, धनकुटाका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजबाबु महर्जन बताए। “मादक पदार्थ सेवन गरेको अवस्थामा माला दिने बहानामा आक्रमण गर्न खोजेको हो। हामीले नियन्त्रणमा लिइहाल्यौं,” डीएसपी महर्जनले भने, “ठ्याक्कै आसय भन्न त सकिन्न, तर रक्सी खाएर मातेको देखियो।”
एमालेका पोलिटव्यूरो सदस्य विशाल भट्टराईले दुर्व्यवहार गर्ने व्यक्ति मातेको अवस्थामा भएका कारण उनको उद्देश्य स्पष्ट नभएको बताए। “उनको उद्देश्य माला लगाइदिने हो वा गाला मुसारेर माया खर्न खोजेको हो। तर त्यसो गर्ने वित्तिकै सुरक्षाकर्मीले हटाइहाल्यो,” भट्टराईले भने, “मान्छे मातेको थियो रे। त्यही भएर जे अर्थ लाउँदा पनि हुने भएर कसैले आक्रमण गर्न खोज्यो भन्छन्, कसैले के भन्छन्। वरिपरी बस्नेले चाहीं आक्रामक थिएनन् भनिरहेका छन्।”
पहिचान पक्षधरले ओलीलाई भोजपुरमा नारा लगाउँदै कालो झण्डा देखाउने प्रयास गरेका थिए। त्यो क्रममा ६ जना पक्राउ परेका छन्।