रूस-युक्रेन युद्धमा ज्यान गुमाउँदै नेपाली, अनदेखा गर्दै सरकार
नेपाल सरकारकाे बेवास्ताकै कारण रूस-युक्रेन युद्धमा ज्यान गुमाएकाहरूको परिवारजनले काजकिरिया गर्न मृतकको शव समेत पाएका छैनन् भने घाइते र बन्धकको अवस्था अज्ञात छ।
पढाइका लागि भनेर गत वर्ष रूस पुगेका गोरखाका सन्दीप थपलिया गत जेठ १ मा रूसी सशस्त्र बलमा भर्ती भए। जेठको २४ गतेसम्म उनी परिवारको सम्पर्कमै थिए, तर युक्रेनी भूमि बाखमुट पठाएपछि भने उनले त्यहीं ज्यान गुमाए।
कोभिड-१९ महामारीका वेला सन्दीपले टेकुस्थित सरकारी प्रयोगशालामा काम गरे। महामारी सकिएपछि करार सम्झौता पनि सकियो। त्यसैले कामको खोजीमा भौंतारिइरहेका उनी रूस पुगेका थिए।
सन्दीपको मृत्यु भएको खबर सार्वजनिक भए पनि मस्कोस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले शुरूमा त खोजीका लागि पहल नै गरेन। परिवारको निरन्तरको प्रयासपछि भने रूसमा कार्यरत नेपालीको सहयोगमा सन्दीपको शव रूसको नोभो-तालित्सकी समाधिस्थलमा छ भन्ने पत्ता लाग्यो।
परिवारले पाएको तस्वीरमा सन्दीपको शव राखिएको ठाउँलाई ‘चिहान नं. २१’ नाम दिइएको छ। त्यहाँ रूसी भाषामा उनको नाम तथा जन्म र मृत्यु मिति उल्लेख छ। नेपालमा सन्दीपका परिवार दाहसंस्कारका लागि ६ महीनादेखि उनको शव कुरिरहेको छ। “मेरो दाइको अस्तु भए पनि पाउन पाए दाहसंस्कार गर्न मिल्थ्यो, हामीलाई पनि सन्तोष हुन्थ्यो। तर कसैले पनि सहयोग गरेका छैनन्,” उनकी बहिनी शान्ताले भनिन्।
रूसी सशस्त्र बलमा कार्यरत एक नेपाली सिपाहीका अनुसार सन्दीपको शरीर बमले क्षत-विक्षत छ। यस संवाददाताको सम्पर्कमा आएका उनी आफैं पनि घाइते छन्। उनका अनुसार अरू १२ जना नेपाली घाइतेहरू मस्कोमा उपचाररत छन्।
उनीहरू युद्धग्रस्त क्षेत्र कूप्यान्स्कमा घाइते भएका थिए। उनीहरूकै टोलीका थप दुई नेपाली भने अझै युद्ध क्षेत्रमै खटिइरहेका छन्।
बर्दिया राजापुरका विवेक खत्रीको कथा पनि कम दर्दनाक छैन। गत वर्ष मध्यकात्तिकसम्म पनि उनी काठमाडौंमै थिए। प्लस टु सकेर बर्दियाबाट उच्च शिक्षाका लागि काठमाडौं आएका २३ वर्षीय विवेकले ६ महीना काठमाडौंमा एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा काम पनि गरे। तर, कमाइले खान बस्नै पुगेन, पढाइ त टाढाको कुरा।
घरमा आमा नसा सम्बन्धी रोगले थलिएकी, बुबा जयबहादुर खत्री छारे रोग पीडित। वेलावेला खेतीपाती गरेर बचेको समयमा मजदूरी गर्न बुबा भारत जाने गरे पनि उनको कमाइले घरखर्च पनि चल्दैनथ्यो। हुर्किंदै गरेका भाइ-बहिनीको पढाइ खर्च पनि विवेककै काँधमा थियो।
तर, नेपालमा काम गरेर पढाइ र घरखर्च धान्न नसकिने ठानेपछि विवेकले अर्थशास्त्र पढ्न रूस जाने योजना बनाए। छोराले पढे राम्रै हुने आशमा जयबहादुरले ऋण काढेर १० लाख रुपैयाँ जुटाइदिए। गत वर्ष कात्तिकमा विवेक रूस पुगे। तर, त्यहाँ अध्ययन शुरू गर्न एक वर्ष अनिवार्य रूसी भाषा पढ्नुपर्थ्यो। पहिले नै ऋणले थङथिलो बनाएको थियो विवेकलाई, फेरि एक वर्ष भाषा समेत अध्ययन गर्नुपर्ने भएपछि काम नगरी बाँच्न असम्भव भयो।
त्यही वेलै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँ बसोबास गरिरहेका विदेशीलाई पनि रूसी सशस्त्र बलमा भर्ना हुने बाटो खुला गरे। एक वर्ष उक्त फौजमा काम गरे त्यहींको नागरिकता र पासपोर्ट सहित भविष्यमा परिवार सहित रूसमा बस्न मिल्ने आवासीय सुविधा दिने, राष्ट्रिय सेनामा प्रवेश पाइने प्रावधान लागू भयो। सेनामा भर्ती हुन उमेरको कुनै हदबन्दी पनि राखिएन। यसले जुनसुकै देशका नागरिकलाई रूसी फौज प्रवेश सहज बनायो।
आफूसँगैका साथीहरू धमाधम रूसी सशस्त्र बलमा भर्ती हुन थालेपछि विवेकको पनि मनस्थिति बदलियो, उनी फौजमा भर्ती भए। तर, तीन महीनापछि नै उनलाई युक्रेनी सैनिक प्रहरीले नियन्त्रणमा लियो।
करीब साढे दुई महीनाअघि ह्वाट्सएपमा एक अपरिचित विदेशी नम्बरबाट विवेकका भाइ विशाललाई फोन आएको थियो। फोन गर्ने व्यक्तिले ‘तिम्रो दाजु युक्रेनको जेलमा छ, पासपोर्टको कपी छ भने पठाइदेऊ’ भनेको विशाल सम्झन्छन्- “हामीले दाइको खोजी गर्दा एकछिन कुरा गर्न दिए। दाइले सक्ने भए पासपोर्टको कपी पठाऊ नभए केही नगर भनेर फोन राखिदियो। त्यसयता केही खबर छैन।”
विवेकको परिवारले राहदानीको प्रतिलिपि तिनै अपरिचित व्यक्तिको ह्वाट्सएपमा पठाएका छन्। छोरो पक्राउ परेको खबर सुनेर मजदूरी गर्न भारत पुगेका उनका बुबा घर आइपुगेका छन्। बिरामी आमाको दिन रोएरै बितिरहेको छ। तर, यो परिवारको पुकार अहिलेसम्म सरकारले सुनेको छैन। विवेकलाई युक्रेनको कब्जाबाट मुक्त गर्न अहिलेसम्म सरकारी स्तरबाट कुनै पहल भएको छैन। उनको पछिल्लो अवस्था अज्ञात छ।
जयबहादुरका अनुसार फौजमा भर्ती हुनुअघि विवेकले घरमा पनि सोधेका थिए। जयबहादुरले ‘जति ऋण-दुःख भए पनि सहौंला’ भन्दै घर फर्कन भनेका थिए। “केटीहरू त गइरहेका छन्, साथीहरू सबै गए। म पनि गएर ऋण तिर्छु, आमाको उपचार गर्छु, पछि तपाईंलाई पनि यहीं ल्याएर राख्छु भनेर गएको हो,” जयबहादुरले छोराको भनाइ उद्धृत गर्दै भने।
घाइतेलाई फर्कन रोक
वीरगञ्जबाट मेकानिकल इन्जिनीयरिङ पढाइ सकेर काठमाडौं आएका विवश (नाम परिवर्तन) त्रिपुरेश्वरमा एक कम्पनीमा काम गरिरहेका थिए। कामको खोजीमा सुदूरपश्चिमबाट वीरगञ्ज पुगेका उनका बुबा त्यहाँ सारीमा बुट्टा भरेर घरखर्च चलाउँथे। जेठो छोरा विवशलाई जेनतेन इन्जिनीयरिङ पढाएका थिए उनले।
विवश बाहेक अरू दुई छोरा पनि अध्ययन गरिरहेकाले उनलाई पढाइ खर्च जुटाउन समस्या थियो।
यता कामको खोजीमा काठमाडौं पसेका विवशको कमाइ गतिलो भइरहेको थिएन, नेपालमा भविष्य नदेखेपछि उनी विदेश गएर पैसा कमाउने सोच्न थाले। एक शैक्षिक परामर्शदाता कम्पनीलाई ६ लाख रुपैयाँ बुझाएर उनी रूस हानिए।
त्यहाँ औपचारिक पढाइ शुरू गर्न रूसी भाषा पढ्नैपर्थ्यो। घरबाट लगेको पैसा केही महीनामै सकियो। त्यता खोजे जस्तो काम पनि पाएका थिएनन्। त्यही समयमा रूसी कानून संशोधन भयो, वैधानिक रूपमा रूस बसाइँको सुविधा पाउने लोभमा उनी पनि रूसी सशस्त्र बलमा भर्ती भए।
रूसी भाषामा लेखिएको एकवर्षे करार सम्झौतामा शुरूका तीन महीना तालीम गराउने अनि मात्र लडाइँमा पठाउने भनिएको थियो। तर, सैनिक अभाव पूर्ति गर्न केही हप्ता सामान्य बन्दूक र ड्रोन चलाउने तालीम दिएर एक महीनामै उनलाई युद्धको रेडजोन बाखमुट र आसपासका क्षेत्रमा पठाइयो।
अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार युक्रेनसँगको लडाइँमा करीब एक लाख २० हजार रूसी सेनाले ज्यान गुमाएका छन् भने एक लाख ७० हजार घाइते छन्।
रूसले कब्जा गरेको युक्रेनी भूमि बाखमुटको सुरक्षार्थ त्यहाँ खटाइएका विवश गत असारको अन्तिम साता युक्रेनी सेनाको मिसाइल आक्रमणमा परे। मिसाइलले विवशका दुवै हातमा क्षति पुग्यो। दुवै खुट्टा जले।
कागजात अभावमा शुरूमा त उनको उपचार नै भएन। साथीहरूले सम्झौतापत्र पठाइदिएपछि भने मस्कोस्थित अस्पतालमा दुई महीना लामो उपचार गराए। विभिन्न चरणका शल्यक्रियापछि अहिले उनी रूसमै छन्। सम्झौता अवधि एक वर्षको भएकाले उनलाई नेपाल आउन पनि दिइएको छैन।
“छोरो पठाउँदा लागेको ऋणको ब्याज हरेक महीना ३० हजार तिर्नुपर्छ। गरीब मान्छे हुँ, अझै दुई छोरालाई पढाउनु छ। कसरी गर्ने हो?” उनका बुबा आफ्नो बाध्यता सुनाउँछन्। खबर सुनेदेखि महीना दिनसम्म त उनकी आमा मूर्छा परिरहन्थिन्, अहिले अलि सम्हालिएकी छन्।
रूसी सशस्त्र फौजमै भर्ती भएका पश्चिम नवलपरासीका दिनेश (नाम परिवर्तन)ले पनि मिसाइल आक्रमणमा हात गुमाएका छन्। बाखमुट लडाइँमा घाइते भएपछि उनी पनि शुरूमा कागजात अभावले उपचारबाट वञ्चित भए। पछि मस्कोको अस्पतालमा उपचार भयो। उनलाई पनि अहिले नेपाल फर्किन दिइएको छैन। कारण उही- एकवर्षे करार।
नेपाल सरकार र रूसबीच सेना भर्तीबारे कुनै सम्झौता नभए पनि नेपाली युवाहरूले व्यक्तिगत हैसियतमा सेनामा भर्ना हुने सम्झौतामा हस्ताक्षर गरिरेहेका छन्। अहिले एक वर्षको लागि रूसी सशस्त्र फौजमा भर्ना भएकाहरू त्यसपछि रूसी सेनामा भर्ना हुन पाउने छन्। एक वर्षको अवधिभर भने सशस्त्र बल छोडेर कहीं जान नपाउने प्रावधान छ। सम्झौता उल्लंघन गरे १० वर्षको काराबास भोग्नुपर्छ। नेपाली युवालाई अहिले यही डरले थप सताएको छ।
बेरोजगारीले ‘भाडाका सिपाही’
गोरखा बुङ्कोटका रमेश (नाम परिवर्तन) भारतीय र बेलायती सेनामा भर्ती हुन गरेको तीन पटकको प्रयास असफल भएपछि अन्ततः पढाइकै लागि भनेर रूस हानिए। उनको देश नेपालले संयुक्त राष्ट्रसंघमा पेश भएको प्रस्तावमा युक्रेनको पक्षमा मतदान गरेको थियो। उनी भने रूसी सशस्त्र बलका तर्फबाट युक्रेन विरुद्ध लड्दैछन्।
भर्ती अवैध रूपमा भइरहेकाले रूसी फौजमा कति नेपाली छन् भन्ने औपचारिक तथ्याङ्क पाइँदैन। विवशले परिवारसँग कुरा गर्दा आफ्नो समूहमै ४५ जना नेपाली भर्ती भएको बताएका थिए।
संवाददाताको सम्पर्कमा आएका एक घाइते नेपाली सिपाहीले भने मृत्यु हुने नेपाली युवाको संख्या करीब एक सय पुगेको आकलन गरेका थिए। “युद्धको अग्र मोर्चा (फ्रन्टलाइन)मै करीब ६०० नेपाली हुनुपर्छ। त्यसमध्ये २०० जति त लडिनै रहेका छन्। करीब ३०० जति घाइते होलान्। हताहती त धेरै भएको हुनुपर्छ, सार्वजनिक नगरिएकोले थाहा नभएको हो,” उनले भने।
संवाददाताको सम्पर्कमा आएका रूसी फौजमा भर्ती भएका अधिकांश नेपाली युवा यसअघि भारतीय र बेलायती सेनाको लागि प्रतिस्पर्धामा गएर असफल भएको बताउँछन्। सुरक्षाका कारण नाम खुलाउन नचाहने ती युवाहरू जोखिम भए पनि बेरोजगार भएकै कारण ‘भोकै मर्नुभन्दा युद्धमा मर्नु ठीक’ भन्दै रूसी फौजमा भर्ती भएको बताउँछन्।
कतिसम्म भने नेपाली सेना र प्रहरीबाट सेवानिवृत्त भई दुबई, कतार, ओमान लगायत खाडी मुलुकमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका नेपालीहरू पनि राम्रो तलब र रूसी नागरिक हुने लोभमा रूसी फौजमा भर्ती भइरहेको मस्कोमा रहेका नेपालीले बताएका छन्। उनीहरूका अनुसार, युद्धका लागि जति पनि सैनिक भर्ती गर्न सक्ने सामर्थ्य भएको रूसले अन्य कामका लागि भन्दा पनि सैन्य भर्नाका लागि भनेर अध्यागमनमा पुग्नेहरूलाई सहजै प्रवेश दिइरहेको छ।
कसरी गइरहेका छन्?
रूसी फौजमा भर्ती भएका युवाहरूले तालीमको क्रममा सामाजिक सञ्जाल टिकटकमा भिडिओ अपलोड गरेकाले अरू युवा पनि त्यसप्रति आकर्षित भए। अहिले नेपाल तथा खाडी मुलुकबाट भिजिट भिसामा रूस जाने क्रम रोकिएको छैन। पढाइ र कामको खोजीमा रूस पुगेका र अन्य युरोपेली मुलुक छिर्न मस्कोलाई ट्रान्जिट बनाउने नेपालीहरू पनि रूसी सशस्त्र बलमा भर्ती भएका छन्।
नेपालका केही म्यानपावर कम्पनीले १० लाख रुपैयाँ लिएर भिजिट भिसामा रूस पठाउने गरेको रूसी सशस्त्र बलमा कार्यरत युवाहरू सामाजिक सञ्जालमा बताइरहेका छन्। रूसी फौजमा नेपालीहरूको भर्तीबारे प्रहरीले सतर्कता त बढायो, उनीहरूलाई रोक्न शुरूमै पुग्दो पहल भने गरेन।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका वरिष्ठ उपरीक्षक जीवन श्रेष्ठ नेपालीहरू रूसी सेनामा भर्ती भएको खबर आएपछि निगरानी गरेर केही शंकास्पद व्यक्तिलाई विमानस्थलबाट फिर्ता गरेको बताउँछन्। “उजुरी नै नआएकाले म्यानपावरमाथि अनुसन्धान भएन। तर भिजिट भिसामा रूस जान लागेकाहरूलाई हामीले फर्काइदिएको हो। अहिले पनि त्यहाँ प्रहरीले निगरानी गरिरहेको छ,” श्रेष्ठले भने, “फर्काइएकाहरूले म्यानपावर कम्पनीबारे केही भनेनन्।”
औपचारिक तथ्याङ्क अनुसार हालसम्म रूस-युक्रेन युद्धमा ६ जना नेपाली मारिएका छन्। एकपछि अर्को गर्दै नेपालीले युद्धमा ज्यान गुमाएपछि मंसीरको तेस्रो साता प्रहरीले नेपालीलाई रूसी फौजमा भर्ती हुन पठाएको अभियोगमा १२ जनालाई पक्राउ गरेको थियो। उनीहरूले युवालाई प्रलोभनमा पारेको आरोप छ। एकसाथ केही पूर्व सुरक्षाकर्मी सहित १२ जना पक्राउ परेपछि रूसी फौजमा नेपाली पठाउन संगठित गिरोह नै सक्रिय रहेको प्रहरीको आशंका छ।
प्रहरीको आशंकालाई पुष्टि गर्न पछिल्लो एक वर्षमा भिजिट भिसामा रूस गएका नेपालीको संख्याले थप आधार दिन्छ। अध्यागमन विभागका अनुसार, २०७९ मध्यपुसदेखि २०८० मंसीर १४ सम्म श्रम र भिजिट भिसामा करीब दुई हजार ९०० नेपाली रूस गएका छन्।
विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ५१ जनाले मात्र श्रम स्वीकृति लिएकामा रूसी सेनामा विदेशीलाई पनि भर्ती गर्ने रूसी निर्णयपछि रोजगारीको लागि भनेर रूस जानेहरूको संख्या एक्कासि बढेको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा ३८६ जना रोजगारीका लागि भनेर रूस गए।
रूसी फौजमा शुरूमा भर्ना हुने नेपालीहरू पढ्न भनेर रूस गई कामको खोजीमा भौंतारिएका विद्यार्थी थिए। उनीहरूले रूसी फौजमा राम्रो तलब पाइने सन्देश सहितका भिडिओ सामाजिक सञ्जालमा राखेपछि खाडी मुलुकमा काम गरिरहेका युवाहरू पनि त्यतैबाट भिजिट भिसामा रूस पुगेर सेनामा भर्ती भएको देखिन्छ।
युद्धमा ज्यान गुमाएका गोरखाका सन्दीप हुन् वा घाइते भएका वीरगञ्जका विवश वा युक्रेनी सेनाका बन्धक बर्दियाका विवेक, सबै अध्ययनकै लागि भनेर रूस गएका थिए।
सरकारी तथ्याङ्कले पनि अघिल्लो वर्ष उल्लेख्य संख्यामा नेपालीहरू पढ्नका लागि रूस गएको देखाउँछ। शिक्षा मन्त्रालयका अनुसार सन् २०२१ मा १६६ जनाले मात्र अध्ययनका लागि स्वीकृति लिएकामा विदेशी नागरिकलाई आफ्नो फौजमा भर्ती दिने रूसी निर्णयपछि सन् २०२२ मा एक हजार ४५८ जनाले अध्ययनका लागि स्वीकृति लिएका छन्।
अधिकांशले अध्ययनका लागि रूस जान शैक्षिक परामर्शदाता कम्पनी मार्फत प्रक्रिया अगाडि बढाउँछन्। साथै पोल्याण्ड लगायत पूर्वी युरोपेली मुलुकमा कामदार भिसामा जानेहरू पनि त्यहींबाट रूसी सेनामा भर्ती हुने गरेका छन्।
रूसी फौजमा नेपालीको संलग्नताबारे मौन बस्दै आएको सरकारले एकपछि अर्को मृत्युको खबर आउन थालेपछि भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालको संयोजकत्वमा एक समिति गठन गरेको छ। मंसीर १४ मा गठित तीन सदस्यीय समितिलाई रूसी सेनामा नेपाली पठाउने शैक्षिक परामर्शदाता, ट्राभल एजेन्सी र अवैध रूपमा घरेलु कामदार लैजाने गिरोहबारे अध्ययन गरेर १५ दिनमा प्रतिवेदन बुझाउन भनिएको छ।
फुस्सा कूटनीति, लाचार सरकार
केही नेपाली युवाहरू आफू युक्रेनी फौजमा पनि भर्ती भएको पनि सामाजिक सञ्जालबाट खुलेआम बताइरहेका छन्। सरकारले रूस, युक्रेन लगायतका विदेशी फौजमा नेपाली युवा भर्ती भइरहेको विषय लामो समयसम्म स्वीकार गरेकै थिएन। साउनको तेस्रो हप्ता नेपाली बन्धक भएको घटना बाहिर आएपछि भने सरकारले पीडितलाई निवेदन दिन आह्वान गरेर सोधखोज थालेको थियो।
मन्त्रालयमै पुगेर निवेदन दिएपछि भने रूसी सेनामा भर्ती भएका एक जनाको मृत्युको खबर पुष्टि गर्दै सरकारले मंसीरको तेस्रो साता ६ जनाले ज्यान गुमाएको जानकारी दियो। साथै रूसी फौजमा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न रूस सरकारलाई कूटनीतिक नोट पठाएको छ। यस बाहेक सरकारी सक्रियता लगभग छैन नै।
विवेकको परिवारले उद्धारका लागि मन्त्रालयमा निवेदन दिएको दुई महीना हुँदा पनि केही पहल भएको छैन। “मन्त्रीज्यूले चिन्ता नलिनू हामी सकेको गर्छौं भन्नुभएको थियो। अहिलेसम्म केही भएको छैन,” विवेकका आफन्त खड्क कार्की भन्छन्।
सन् १९५६ मा कूटनीतिक सम्बन्ध कायम भएको रूसको राजधानी मस्कोमै नेपाली दूतावास छ। राजदूत सहित एक जना द्वितीय सचिव र श्रम सहचारी सहित तीन जना कर्मचारी उक्त दूतावासमा छन्। रूसी सेनामा भर्ती भएका युवाहरू घाइते भएको खबर आएलगत्तै पीडित परिवारले उद्धारका लागि पहल गरिदिन दूतावासमा मौखिक अनुरोध गरेका पनि थिए। दूतावासले लिखित निवेदन लिन आनाकानी गरेपछि पीडित परिवारले काठमाडौंमा पराराष्ट्र मन्त्रालय पुगेरै निवेदन दर्ता गराएका थिए।
रूस-युक्रेन युद्धमा आफ्ना मान्छे गुमाएर पहिल्यै घायल भएका पीडित परिवार सरकारी बेवास्ताका कारण झन् कायल भएको बताउँछन्। युक्रेनी सैनिक प्रहरीको बन्दी बनेका विवेकको परिवारले युक्रेनी पक्षबाट सामाजिक सञ्जालमा सार्वजनिक विवेकको भिडिओ देखेलगत्तै परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए। “निवेदन दिएको हो। तर अहिलेसम्म केही सुनुवाइ भएको छैन,” विवेकका भाइ विशाल भन्छन्।
व्यक्तिगत पहलबाटै शान्ता थपलियाले पनि आफ्नो दाइको शव राखिएको स्थान पहिचान गरिन्। तर दाहसंस्कारको लागि शरीर वा अस्तु केही पनि पाउन सकेकी छैनन्। अरू घाइतेहरूको उद्धारमा चासो दिइएको छैन। अहिले पनि रूसी सेनामा भर्ती भइरहेका युवाहरूलाई रोक्न केही पहल गरिएको छैन।
रूस-युक्रेन युद्धमा नेपालीले भोगेको नियतिबारे परराष्ट्र मन्त्रालयकी सचिव तथा प्रवक्ता सेवा लम्साल पनि लाचारी प्रकट गर्छिन्, “नेपाली संसारका सबै मुलुकमा काम गरिरहेका छन्, उनीहरूको गतिविधि निगरानी कठिन छ। रूसी फौजमा नेपालीको भर्ती सरकार संलग्न भएर गरेको होइन। उहाँहरू अध्ययन र पर्यटन भिसामा गएर भर्ती भएको भन्ने बुझेका छौं। जे कामको लागि गएको त्यही भएको भए यस्तो हुने थिएन।”
असंलग्न परराष्ट्र नीति विरूद्धको काम
नेपाल, भारत र बेलायतबीच सन् १८१६ मा भएको त्रिपक्षीय सम्झौता अनुसार १९ देखि २१ वर्ष उमेर समूहका नेपाली युवाहरू बेलायती र भारतीय सेनामा भर्ती हुँदै आएका छन्। बेलायती फौजमा भर्ती भएका नेपाली गोर्खाहरूलाई त्यहाँको सेनाले ब्रुनाई सेना र सिंगापुर प्रहरीमा पठाउँदै आएको छ। ब्रिटिश गोर्खाहरू नाटो सदस्य रहेको बेलायती सेनाको प्रतिनिधित्व गर्दै अफगानिस्तान, इराक लगायतका युद्धग्रस्त क्षेत्रमा पनि खटिन्छन्।
सैन्य भर्ना सम्बन्धी सम्झौता भएका बेलायत र भारत बाहेकका अन्य देशमा भर्ती हुनु गैरकानूनी हो। तर, असंलग्न परराष्ट्र नीतिको प्रवर्तक नेपालका युवाहरू गरीबी, बेरोजगारी र राजनीतिक अस्थिरताका कारण रोजगारीको खोजीमा सैन्य भर्ती सम्झौता नभएका मुलुकमा पनि फौजमा भर्ती हुन थालेका छन्। रूसी फौज ताजा उदाहरण हो।
कानूनतः नेपाली नागरिकता नत्यागेसम्म अरू देशको सेनामा काम गर्न पाइँदैन। अहिले अमेरिकी सेना बाहेक फ्रान्सको फ्रेन्च लेजियन, यूएईको आर्म्ड गार्डमा नेपाली नागरिकता नत्यागी नेपाली युवा भर्ती भएका छन्। आफूखुशी विदेशी सेनामा भर्ती हुन थालेपछि युद्धग्रस्त क्षेत्रमा मृत्युवरण गर्ने नेपालीको संख्या बढ्दै गएको छ।
सन् २०१६ मा १४ जना नेपाली सुरक्षाकर्मीको तालिवानी सेनाको बम विस्फोटमा परी ज्यान गएको थियो। त्यसअघि सन् २००५ मा सुरक्षाकर्मीका रूपमा काम गर्न हिंडेका १२ जना नेपालीको इराकमा हत्या भएको थियो। अफगानिस्तानको दुःखद् घटनापछि दर्जनौं नेपालीलाई तत्काल उद्धार गरेर नेपाल ल्याइए पनि फेरि त्यहाँ गएर काम गर्ने क्रम रोकिएन। सन् २०२१ मा तालिवान सत्तामा आएपछि पनि विभिन्न विदेशी दूतावासको सुरक्षार्थ कार्यरत नेपाली सुरक्षा गार्डको उद्धार गरिएको थियो।
विदेशी सुरक्षा बलमा भर्ती भएका नेपाली युवाहरू सुरक्षाको हिसाबले संवेदनशील र जोखिम मानिएका क्षेत्रमा खटाइने गरेका छन्। उदाहरणका लागि भारतीय सेनामा भर्ना भएका नेपालीहरू द्वन्द्वग्रस्त भारत नियन्त्रित कश्मीर र चीनसँग सीमा विवाद रहेको गलवान क्षेत्रमा परिचालित छन्। परिणामस्वरूप, चीन र भारतको बीचमा रहेको नेपालले भारतीय सेनामा सहभागी भएर चीन विरुद्धको लडाइँमा साथ दिएको सन्देश प्रवाह भइरहेको छ।
सैन्य मामिलाका जानकार विनोज बस्न्यात पछिल्लो समय रूसी सशस्त्र बल र युक्रेनी सेनामा नेपालीहरू भर्ती भएको बताउँछन्। “नेपालीहरू विदेशी सेनामा भर्ती भइरहनुको एउटा नभई धेरै कारण छन्। रणनीतिक हिसाबले हेर्ने हो भने हाम्रो शासन प्रणाली नै हो,” थाइल्यान्डको राङसिट विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षा विषयमा अनुसन्धानरत नेपाली सेनाका अवकाशप्राप्त उपरथी बस्न्यात भन्छन्, “अर्को भनेको हरेक वर्ष नेपाली श्रम बजारमा आउने युवाहरूलाई काममा लगाउन नसक्नु हो।”
यकिन तथ्याङ्क नभए पनि जानकारहरूका अनुसार हरेक वर्ष करीब पाँच लाख युवा नेपाली श्रमबजारमा कामका लागि तयार हुन्छन्। तर, नेपालले तीमध्ये करीब एक चौथाईलाई मात्र कामको व्यवस्था गर्न सक्छ, बाँकीका लागि देशमा रोजगारीको अवसर छैन।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा कामका लागि सात लाख ७५ हजार युवा विदेश पुगे। सोही अवधिमा एक लाख १० हजारले पढ्नका लागि भनेर देश छोडेका छन्। यस बाहेक नेपालसँग खुला सिमानाका कारण कुनै आधिकारिक तथ्याङ्कमा दर्ता नहुने भारतमा करीब २० लाख नेपाली कार्यरत छन्।
दोस्रो विश्वयुद्धताका वार्षिक तीन हजार ५०० सम्म नेपाली युवा भर्ती लिने गरेको बेलायतले अहिले २५० देखि ३०० हाराहारीमा नेपाली भर्ती लिने गरेको छ। तर, बेलायती सैनिक हुनका लागि वर्षेनि १०औं हजार युवा प्रतिस्पर्धा गर्छन्। सयौं तालिम केन्द्रमा महीनौं धाएर कठिन मेहनत गर्दा पनि असफल हुनेहरू जसरी भए पनि विदेश जाने र त्यहींको सुरक्षा फौजमा भर्ती हुने प्रवृत्ति बढिरहेको सुरक्षा विश्लेषक बस्न्यातको भनाइ छ।
यसका अलावा दुई वर्षदेखि भारतीय सेनामा जाने युवाहरूको बाटो छेकिएको छ। हरेक वर्ष एक हजार ५०० देखि दुई हजारसम्मको संख्यामा नेपाली युवा भारतीय सेनामा भर्ती हुन्थे। ‘अग्निपथ’ कार्यक्रम लागू भए यता नेपाल सरकारले नेपाली युवाहरूलाई भारतीय सेनामा भर्तीको स्वीकृति दिएको छैन।
“खाडी मुलुक जानुभन्दा बेलायती र भारतीय सैनिकमा जानु सम्मानित काम मानिन्थ्यो। बेलायतले पनि नेपालीको संख्या घटायो। भारतमा पनि अग्निपथले बाधा पुर्यायो,” भूतपूर्व बेलायती गोर्खा सैनिकको संगठन (गेसो)का अध्यक्ष कृष्णकुमार राई भन्छन्, “यस्तो अवस्थामा रूसमा पढाइ सकेर बसेका वा पढिरहेकाहरू देशमा आएर पनि के गर्ने भन्ने सोचाइका कारण समेत विदेशी सेनामा भर्ती भइरहेका छन्।”
नेपाली युवाहरूको भर्ती देशको परराष्ट्र नीति विरुद्ध रहेको र हतियार खेलाउन अभ्यस्त भएका युवाहरू नेपाल फर्किंदा देशभित्र पनि गलत तत्त्वले प्रयोग गर्ने खतरा रहने बस्न्यात बताउँछन्। “तसर्थ, नेपालीहरू कुन एजेन्टबाट कहाँ गएका छन् भन्ने विषयमा रोजगारीको समीक्षा हुनुपर्छ। अन्यथा सुरक्षा मामिलामा हाम्रो रणनीतिक गल्ती हुनेछ,” उनले भने।
जसले ज्यान गुमाए
अभिलेख अनुसार रूसी फौजमा भर्ती भएर ज्यान गुमाउने गोरखाका सन्दीप थपलिया पहिलो नेपाली हुन्। अर्का हुन्, इलामका गंगाराज मोक्तान।
नेपाली सेनामा पाँच वर्ष काम गरेर दुबई गएका उनी उतैबाट रूस पुगेर त्यहाँको फौजमा भर्ती भएका थिए। उनको परिवारका अनुसार २०७६ सालमा दुबई गएका गंगाराज सोचे जस्तो काम नपाएपछि अरू साथीहरू जस्तै रूसी फौजमा भर्ती हुन गएका थिए।
उनी अन्तिम पटक कात्तिक २८ गते टेलिग्राममा अनलाइनमा देखिएका थिए। मंसीर १० गते उनले ज्यान गुमाएको खबर आयो।
त्यस बाहेक रोजगारीको लोभमा नेपालबाट केही युवाहरू सीधै रूस गएको वैदेशिक रोजगार विभागको अभिलेखमा देखिन्छ। रूसमा ज्यान गुमाएका दोलखाका राजकुमार रोका पनि सशस्त्र प्रहरीको जागिर छाडेर भिजिट भिसामा रूस पुगेका र फौजमा भर्ती भएका थिए। दोलखा मेलुङका रोका दुई महीनाअघि मात्र रूसी फौजमा भर्ती भएका थिए। मेलुङ गाउँपालिका ६ नम्बर वडाका वडाध्यक्ष कुसुम लामा रोकाले लडाइँमा ज्यान गुमाएको बताएका छन्। स्याङ्जा पुतलीबजार-५ ठूलास्वाराका प्रितम कार्कीले पनि रूसी युद्धमा ज्यान गुमाएका छन्।
घुमाउरो बाटो गैरकानूनी भर्ती
नेपालको चरम बेरोजगारी र युवाको विदेशी सेनाप्रतिको झुकावलाई राम्रोसँग बुझेका केही धनी राष्ट्रले अवैध हिसाबले भन्दा पनि द्विपक्षीय सम्झौता गरेरै नेपालीलाई सुरक्षाफौजमा लिने प्रस्ताव गरिरहेका छन्। जस्तो: सन् २०२२ को विश्वकप फूटबल आयोजना गर्नुअघि कतारले आठ हजार नेपाली युवालाई कतार प्रहरीमा भर्ती गराउन पहल गरेको थियो। पछि म्यानपावर व्यवसायी र सरकारबीच मतभिन्नता देखिएपछि यो भर्ती प्रक्रिया अघि बढ्न सकेन र रद्द भयो।
गत भदौ १४ गते बहराइनले श्रममन्त्री शरतसिंह भण्डारीसमक्ष सरकारी संयन्त्र मार्फत नै रोयल गार्डमा भर्तीको प्रस्ताव गरेको थियो। रोयल गार्ड बहराइनी सेना अन्तर्गत रहेर राजा, राजपरिवारको सुरक्षा गर्ने दस्ता हो। बहराइनी राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेका बहराइन रोयल गार्डका कमान्डर जनरल शेख नासिर बिन हमाद अल खालिफाका दूत क्रिस्टोफर बर्रोबस र मोहम्मद जुमाले प्रस्ताव गरे पनि नेपालले केही जवाफ दिएको छैन।
औपचारिक रूपमा सरकारी संयन्त्र मार्फत रोयल गार्डमा नेपाली भर्ती भएका छैनन्। तर, पनि सेवा निवृत्त बेलायती र भारतीय गोर्खाहरूले म्यानपावर कम्पनी मार्फत ४० लाख रुपैयाँसम्म खर्च गरेर कमाइको हिसाबले आकर्षक मानिएको रोयल गार्डमा भर्ती भइरहेका छन्। “रोयल गार्ड राजा-रजौटाको काम गर्ने हो। उनीहरू निवृत्त सैनिक खोज्छन्,” श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे भन्छन्, “नेपालीहरू बहराइन, यूएई, साउदी अरेबिया लगायत देशमा रोयल गार्डको रूपमा पहिल्यैदेखि कार्यरत छन्।”
ती देशमा कति नेपालीले रोयल गार्डको रूपमा काम गरिरहेका छन् भन्ने तथ्यांक पनि मन्त्रालयसँग छैन। खाडी मुलुकमा काम गर्न गएका युवाहरू रूसी सेनामा भर्ती भएको बारे श्रम मन्त्रालय बेखबर छ। “रोयल गार्डमा गएका मान्छे रूसी सेनामा गएको मलाई थाहा भएन,” प्रवक्ता घिमिरे भन्छन्, “हामीसँग आफ्नै मान्छे कहाँ कति फर्केर आए भन्ने रेकर्ड छैन। रोयल गार्ड कति छन्, खाडी गएका कामदार र रोयल गार्ड रूस गए भन्ने के थाहा हुनु?”
(शोधखोज पत्रकारिता गुठीका लागि)
यो पनि पढ्नुहोस्: रूसी सेनाभित्र दबिएको नेपालीको गुहार