नवराज सहित पाँच युवकको ‘सामूहिक सक्रियता’ बाट हत्या, कसले बढी कुट्यो वा कसले कम भन्नु बेप्रासंगिक : अदालत
अदालतले नवराज विक, गणेश बुढा, सन्जु विक, लोकेन्द्र सुनार, टीकाराम नेपाली र गोविन्द शाहीको हत्या प्रतिवादीहरूको ‘सामूहिक सक्रियता’ बाट भएको ठहर गरेको छ।
२०७७ जेठमा पश्चिम रुकुमको चौरजहारी-८, सोतीमा भएको हत्या घटनामा दोषी ठहर गर्दै जिल्ला अदालतले २४ जनालाई जन्मकैदको सजाय सुनाइसकेको छ। मंसीर १९ मा भएको आदेशको हालै सार्वजनिक भएको प्रमाणीकरण पूर्ण पाठमा प्रतिवादीहरूले एकआपसमा गुट बनाई संयुक्त रूपमा वारदात गरेको हुँदा यसमा कसले बढी कुट्यो? कसले कम, कसको प्रहार प्राणघातक भयो अथवा कुनै कसैले कुटेन तथ्य प्रासंगिक नहुने उल्लेख छ।
‘ज्यान लिने अथवा समूह कुटपिट गर्ने मनसाय भई सो सन्दर्भमा समूहमा बसी एकअर्कालाई उकासी हौस्याई अथवा हातै हाली कुटपिट गरेमा सबै प्रतिवादी समान रूपमा सहभागी भएको मानिने र समान सजायको भागीदार हुने’ सर्वोच्च अदालतले २०७१ सालमा गरेको फैसलाको नजीरलाई आधार मानेको देखिन्छ।
अदालतले वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, तिलक चन्द, इर्द (इन्द्र)बहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)१, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)३ र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३९) लाई जन्मकैदको सजाय तोकेको हो।
प्रतिवादीमध्येका डम्बरबहादुर मल्ल वडाध्यक्ष समेत भएकाले थप एक वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको अदालतको आदेशमा उल्लेख छ। अदालतले प्रतिवादीहरूको आर्थिक अवस्था र आयस्रोत हेरेर उनीहरूबाट जनही ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश गरेको छ। यसरी जम्मा हुने नौ लाख २० हजार रुपैयाँ मृतकका आफन्त जाहेरवालाहरूलाई दामासाहीमा दिनुपर्ने उल्लेख छ। पीडितहरूले मुद्दाको अन्तिम किनारा लागेपछि क्षतिपूर्ति पाउनेछन्।
यस मुद्दामा प्रतिवादीहरू तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र (क्यापे) घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दले भने अदालतबाट सफाइ पाएका छन्।
आदेशको पूर्ण पाठ: