विदेशबाट ल्याइनेमा अधिकांश तयारी मालसामान, पूँजी निर्माण हुने वस्तु न्यून
अहिले नेपालले विदेशबाट आयात गरिरहेका वस्तुमा अधिकांश तयारी मालसामान छन् भने पूँजी निर्माण हुने वस्तु न्यून मात्रामा छन्।
हरेक दिन नेपालले विदेशबाट सरदरमा चार अर्ब २७ करोड रुपैयाँको मालसामान आयात गर्छ। नुन-तेलदेखि सुन र गाडीसम्म नेपालले भारत र अन्य मुलुकबाट मगाउने गर्छ। नेपाल राष्ट्रले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चार महीना (कात्तिकसम्म)मा नेपालले रु.पाँच खर्ब १२ अर्ब ५० करोड बराबरका सामान विदेशबाट मगाएको छ।
विदेशी मुद्रा खर्च गरेर मगाइएका यस्ता चीजबिजमध्ये अधिकांश तयारी वस्तु रहेको र दैनन्दिनी उपभोगमा सकिने गरेको केन्द्रीय ब्यांकको तथ्यांकले देखाएको छ। राष्ट्र ब्यांकका अनुसार यस वर्षको कात्तिकसम्म आयातमा पूँजीगत वस्तुको अनुपात जम्मा ८.८ प्रतिशत मात्रै छ। अर्थात्, १०० रुपैयाँको आयात हुँदा नौ रुपैयाँ खर्च गरिएका वस्तु मात्रै अर्थतन्त्रलाई गति दिने, पूँजी निर्माण गर्ने र दीर्घकालीन राजस्व वृद्धिमा योगदान गर्ने खालका वस्तु छन्।
जबकि अन्तिम उपभोग्य वस्तुको अनुपात ४२.१ प्रतिशत छ। अन्तिम उपभोग्य वस्तुले तयारी मालसामानलाई बुझाउँछ। यसले आयात भएको सरसामग्रीको ठूलो हिस्सा खाएर, उपभोग गरेरै सकिएको देखाउँछ। उपभोगमा धेरै रकम खर्च हुँदा बचत कम हुने र अर्थतन्त्रलाई दीर्घकालीन लाभ पुग्दैन।
राष्ट्र ब्यांकका अनुसार आयात भएका वस्तुमध्ये मध्यवर्ती वस्तुको अनुपात ४९.२ प्रतिशत छ। कच्चा पदार्थका रूपमा उत्पादन प्रक्रियामा सामेल हुने वस्तुलाई मध्यवर्ती वस्तु मानिन्छ।
पछिल्लो एक वर्षको अवधिमा मध्यवर्ती वस्तुको हिस्सा घटेको र अन्तिम उपभोग्य वस्तुको हिस्सा बढेको देखिएको छ। गत वर्षको कात्तिकमा कुल आयातमध्ये मध्यवर्ती वस्तुको अनुपात ५३ प्रतिशत थियो भने अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.७ प्रतिशत थियो। यसले गत वर्षको तुलनामा आयात कम हुँदा समेत अन्तिम उपभोग्य वस्तुको आयात भने तुलनात्मक कम नभएको देखाउँछ।
राष्ट्र ब्यांकका अनुसार यस वर्षको साउनदेखि कात्तिकसम्म नेपालले रु.पाँच खर्ब १२ अर्ब ५० करोडको वस्तु आयात गरेको छ। यो गत वर्षको यही अवधिको तुलनामा ३.८ प्रतिशत थोरै हो। गत वर्षको तुलनामा कच्चा सोयाबिन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एमएस बिलेट (फलाम) लगायत वस्तुको आयात घटेको छ। यद्यपि तयारी पोशाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युतीय उपकरण, लत्ताकपडा, हवाईजहाजका पार्टपुर्जा लगायत वस्तुको आयात बढेको राष्ट्र ब्यांकले जनाएको छ।
कात्तिकसम्म निर्यात पनि ७.७ प्रतिशतले घटेर ५० अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ। पाम तेल, सोयाबिन तेल, चिया, ऊनी गलैंचा, रोजिन लगायत वस्तुको निर्यात घटेको जनाइएको छ।
आयात घटेको र रेमिटेन्स बढेका कारण बाह्य क्षेत्र भनिने विदेशी मुद्राको सञ्चिति, शोधनान्तर स्थिति, चालू खाता सबै सकारात्मक देखिएका छन्। कात्तिकसम्म नेपालसँग १२ खर्ब ७५ करोड डलर विदेशी मुद्राको सञ्चिति छ, जुन गत असारको तुलनामा ८.९ प्रतिशत धेरै हो। यो बचतले नेपाललाई ११ महीना नौ दिनको वस्तु र सेवा आयात थेग्न पुग्छ।
यसैगरी, कात्तिकसम्म नेपाल भित्रिने र बाहिरिने रकमबीचको अन्तर अर्थात् शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब रुपैयाँले बचतमा छ। चालू खाता पनि ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा छ।